
काठमाण्डु, ३० मंसिर– सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई कार्यभार हस्तान्तरण गर्न सरकार आतुर रहेको बताएका छन् । उनले भने, ‘नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न यो सरकार आतुर छ । त्यसपछि मात्रै हाम्रो कार्यभार पूरा हुनेछ ।’
नेपाल पत्रकार महासंघ शिक्षा विभागको सहयोगमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको २०६९ सालको ‘राष्ट्रिय शिक्षा पत्रकारिता’ पुरस्कार तथा लेखनवृत्ति वितरण कार्यक्रममा बोल्दै शिक्षामन्त्रीसमेत रहेका मन्त्री पौडेलले शिक्षा क्षेत्रमा लगानीअनुसारको प्रतिफल नआएको भन्दै यसबारे सरकार, निजी क्षेत्र र सञ्चारमाध्यम मिलेर कार्य गर्नुपर्नेमा जोड दिए ।
उनले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजन हुन आवश्यक भएको पनि बताए । मन्त्री पौडेलले सरकारले निःशुल्क र अनिवार्य शिक्षासम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको जानकारी दिँदै निरक्षरता उन्मूलन अभियानलाई पनि प्रभावकारी बनाइने छ भने ।
कार्यक्रममा मन्त्री पौडेलले ७५ हजार रुपैयाँ राशिको राष्ट्रिय शिक्षा पुरस्कार २०६९ संयुक्तरूपमा राससका प्रकाश सिलवाल (काठमाण्डु) र अन्नपूर्ण पोष्टका महेन्द्र थापा (रूपन्देही)लाई प्रदान गरे ।