एमाओवादीको अडान कायमै, केन्द्रीय समिति बैठक स्थगित

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ११:२५ मा प्रकाशित

maoist_buildingकाठमाण्डु, ३० मंसिर– एकीकृत माओवादीले निर्वाचनको धाँधली छानविन गर्नुपर्ने र संविधान निर्माण सबै पक्षको सहमतिमा गर्नुपर्ने अडान कायम राखेको छ ।

एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिलाई कायम राख्नुपर्ने निर्णय पनि गरेको छ । पूर्वपोलिटव्युरो समितिको आइतबार बसेको बैठकले पार्टीले पछिल्लोपटक लिएका अडान उपयुक्त रहेको भन्दै सोही अडानका साथ उच्चस्तरीय राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा बोल्ने सदस्यहरुले पार्टीले लिएको अडान सही रहेकोले यसलाई कायम राख्न नेतृत्वलाई सुझाव दिएको बैठकपछि प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाले भने, ‘पूर्वपोलिटव्युरो सदस्यहरुले निर्वाचनमा पाएको जनमतको सम्मान गर्नुपर्ने धारणा राख्नुभएको छ । साथै बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनको कार्यलाई अगाडि बढाउनु पर्ने निर्णय पनि गरेको छ ।

एमाओवादी केन्द्रीय समिति बैठक स्थगित

एमाओवादीले निर्वाचनमा धाँधली भएको विषयमा छलफल गर्न बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । बैठक पुस ९ गते बोलाएको थियो ।

एमाओवादीले अर्को सूचना नआउन्जेल बैठक स्थगित गरेको जनाएको छ । निर्वाचनमा धाँधली भएको भन्दै छानबिन आयोगको माग गरिरहेको एमाओवादीले पार्टीभित्र निर्वाचनको समीक्षा गर्नका लागि बैठक बोलाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us