
काठमाण्डु, ३० मंसिर– एकीकृत माओवादी लगायतका विभिन्न १८ राजनीतिक दलले छानबिन आयोग गठन गर्ने अन्तर्राष्ट्रिय प्रचलन भएकाले सोही प्रचलनअनुसार आयोग गठनको माग अगाडि सारिएको बताएका छन् ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको ती दलको बैठकपछि संविधानसभा निर्वाचनको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठनको मागलाई पुनः दोहोर्याउँदै सो बताएका हुन् ।
बैठकमा उच्चस्तरीय राजनीतिक समितिको बैठकमा भएको छलफल र पछिल्लो राजनीतिक परिस्थितिको विषयमा समेत छलफल भएको सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए । विभिन्न घटनाक्रमले निर्वाचनमा अनियमितता भएको तथ्य सार्वजनिक भइसकेको सन्दर्भमा आयोग गठन गर्नु काँग्रेस र एमालेका हकमा पनि जायज हुने बैठकले निष्कर्ष निकालेको उनले बताए ।
बैठकमा आज बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा कसरी प्रस्तुत हुने विषयमा समेत छलफल भएको थियो । यस्तै बैठकले आयोग गठन नहुँदासम्म कुनै पनि दलले समानुपातिकतर्फ सिफारिस नगर्ने पुरानो अडानलाई समेत कायम राखेको उहाँले जानकारी दिए ।