उच्चस्तरीय समतिबारे के भन्छन् नागरिक अगुवाहरु ?

काठमाण्डु टुडे २०७० मंसिर ३० गते १०:४३ मा प्रकाशित

nagarik aguwa reकाठमाण्डु, ३० मंसिर– नागरिक समाजका केही अगुवाहरुले संविधानसभा निर्माण भइसकेको अवस्थामा विभिन्न अभिव्यक्ति दिएका छन् ।

रिपोटर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा उनीहरुले नयाँ जनादेश आइसकेको भन्दै संसविधानसभाबाट समस्या हल गर्नुपर्ने बताउँदे बाहिर छलफल गरेर पहिलेजस्तै जनतामाथि षडयन्त्र भएको बताएका छन् ।

साक्षात्कारमा नागरिक अगुवाहरुले संविधानसभा भन्दा बाहिर गरिने कुनै पनि छलफल संवैधानिक नहुने भन्दै तत्काल राजनीतिक समिति विघटन गर्नुपर्ने जिकिर गरेका छन्

बाहिरी संस्था संवैधानिक होइनः मैनाली

साक्षात्कारमा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले जनताले संविधानसभा गठन गरिसकेको अवस्थामा अब कुनै पनि बाहिर बन्ने कुनै पनि संस्थाहरु संवैधानिक नहुने तर्क गर्दै  संविधानसभाको बैठकमा बसेर छलफल गर्न सुझाव दिए ।

उनले एमाओवादीले भने जस्तो स्वतन्त्र छानविन आयोगले समेत कानूनी मान्यता पाउन नसक्ने तर्क गर्दै यस्ता समिति नबनाउन र राजनीतिक समिति विघटन गरेर संविधानसभामा छलफल गर्नु पर्ने बताए ।

मैनालीले भने, ‘एमाओवादीले उठाएको कुरा संसदमा समिति बनाएर सम्बोधन गर्नुपर्छ । कुनै पनि कुरा बाहिर छलफल गर्नु हुँदैन । राष्ट्रपतिको विषय पनि संविधानसभामै गएर छलफल गर्नु पर्छ । संविधानसभाले राष्ट्रपति परिवर्तन गर्न चाहे हुन्छ नभए हुँदैन ।’ यद्यपि उनले नयाँ जनमत आएकोले राष्ट्रपति परिवर्तनको प्रश्न उठ्नुलाई भने स्वभाविक भने ।

संविधानसभा एमाओवादीको एजेण्डा भएकोले संविधानसभामै गएर छलफल गर्नु पर्नेमा जोड दिँदै संविधानसभामा जान्न भन्नु राजनीतिक बेइमानी भएको मैनालीले जिकिर गरे ।

पंगु बनाउने कामः दिक्षीत

नागरिक अगुवा डा. सुन्दरमणी दिक्षीतले नयाँ चुनाव भए पनि पुरानै अनुहार, पुरानै चरित्र र शीर्ष नेताको नाममा पुरानै व्यक्तिले राजनीतिक समितिको नाममा संविधानसभालाई फेरि पनि पंगु बनाउने काम गरिरहेको आरोप लगाए ।

जनताले भर्खरै संविधानसभा बनाएको अवस्थामा राजनीतिक समितिको आवश्यकता नभएको दावी गर्दै संविधानसभा बाहिर गर्ने छलफलले जनमतको अपमान गर्ने उनको जिकिर थियो । दिक्षितले संविधानसभाको निर्वाचन भईसकेकोले अब कुन दल आउँछ वा आउँदैन भन्ने कुराको अर्थ नहुने तर्क गर्दै उठेको प्रश्नको संविधानसभा बसेर त्यही छलफल गरेर समिति बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

उनले जनताले संविधान बनाउन मत दिएकोले अहिले सरकार र राष्ट्रपतिको विषयमा अल्झिनु जनताको अपमान हुने भन्दै ती विषयमा सर्वशक्तिमान संविधानसभामै छलफल गरेर टुङगोमा पुग्नु पर्ने बताए ।

यही सरकार राखेपनि हुन्छः मिश्र

प्रोफेसर विरेन्द्र मिश्रले संविधान निर्माणको लागि चुनाव भएकोले अहिले सरकारको लागि मरिहत्ते नगरी प्रक्रियाबाट निर्माण गर्नु पर्नेमा जोड दिँदै अहिले सरकारको कुरा उठाएर विवाद गर्नु फेरिपनि नेपाली जनतालाई संविधान नदिने षडयन्त्र भएको आरोप लगाए ।

उनले लोकतन्त्रको बाटोमा नहिँडेसम्म मुलुकले निकास नपाउने ठोकुवा गर्दै सबै दलहरु उदारताको साथ संविधानसभामा प्रस्तुत भएर छलफलको बाटो बाट संविधान बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले अप्ठ्यारो भए खिलराज रेग्मी नेतृत्वको सरकारलाई निरन्तरता दिएर दलहरु संविधान बनाउन लाग्दा पनि उचितै हुने सुझाव दिए ।

जनघाती प्रतिगमनः ढुंगेल

इतिहासविद्ध डा. रमेश ढुङगेलले चुनावपछि पनि दलहरुले राजनीतिक समितिलाई निरन्तरता दिएर प्रतिगमन गरेको आरोप लगाउँदै संविधानसभा बाहिर छलफल गर्नु मुलुककोलागि प्रतिगमन र नेपाली जनताको अपमान हुने तर्क गरे । उनले राजनीतिक समितिभित्रको छलफललाई जनघाती प्रतिगमनको संज्ञा दिए ।

राष्ट्रपतिको विषय संविधानसभाबाटै टुङगो लगाउनु पर्ने भन्दै पहिला पनि धेरै विषयमा सहमति नभएर निर्वाचन भएकोले अहिले पनि बाहिर छलफल गर्नु देश र जनतामाथि खेलवाड हुने चेतावनी दिए । उनले भने, ‘छिटो संविधानसभा बस्नु पर्छ । सरकार र राष्ट्रपतिको विषय त्यहीबाट टुङग्याउनु पर्छ ।’

नभए विकल्प खोज्छन्ः पाठक

मानवअधिकारबादी सुदिप पाठकले जनताको नयाँ अभिमत आईसकेको अवस्थामा दलहरुले कुनै षडयन्त्र स्वरुप नियोजित रुपमा राजनीतिक समितिको नाममा लिङगरिङ गरिरहेको दावी यरे । उनले यस्तो लिङगरिङले तेस्रो संविधानसभाको निर्वाचन गराउने षडयन्त्र भएको हो कि भन्ने आशंका व्यक्त गरे ।

उनले भने, ‘अहिले शक्ति सन्तुलनको कुरामा अल्झिन मिल्दैन । संविधान निर्माणमा केन्द्रीत हुनु पर्यो र जनतालाई संविधान दिनुपर्‍यो । छिट्टो निकास दिनु पर्‍यो नभए जनताले विकल्प खोज्छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us