
चितवन, ३० मंसिर– जाडो छल्न कर्याङकुर्याङ नामका चरालगायत विभिन्न प्रजातिका चरा तिब्बतबाट चितवन आउने क्रम सुरु भएको छ ।
चितवनमा भन्दा तिब्बतमा यो समयमा जाडो हुने र आहाराका लागि पनि कर्याङकुर्याङ चरा यहाँ आउने गरेको बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष वासु विडारीले जानकारी दिनुभयो ।
ती चरा समूह बनाएर हजारौंको सङ्ख्यामा आउने गर्दछ । कालीगण्डकी भ्याली हुँदै पश्चिम चितवनको दिव्यनगर र सिसवार क्षेत्रमा विचरणका लागि ती चरा आएको उनले बताए । आइतबार १९८ वटा चरा गणना गरिएको चरा विज्ञ विडारीले बताए ।
रातको समयमा नारायणी नदी किनारमा बस्ने सो चरा दिउँसोको समयमा आहाराका लागि दिव्यनगर र सिसवार क्षेत्रमा आउने गर्दछ । कर्याङकुर्याङ चरा प्रत्येक वर्ष जाडो छल्न र आहारका लागि आउने गरेको पनि विडारीले बताए ।
जाडो महिना सकिएलगत्तै सो चरा पुनः तिब्बत नै फर्कने उनले बताए । चितवनमा करिब ६ सय प्रजातिका चरा रहेका छन् ।