मिर्गौला पाए पनि प्रत्यारोपण रोकियो

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ८:५४ मा प्रकाशित

kidneyभक्तपुर, ३० मंसिर– दुवै मिर्गौला असफल भएपछि विगत आठ वर्षदेखि नियमितरुपमा औषधि उपचार गराउँदै आएकी एक महिलाले मिर्गौला दिने व्यक्ति पाए पनि यसका लागि लाग्ने खर्च अभाव भएपछि मिर्गाैला प्रत्यारोपण गर्ने कार्य रोकिएको छ ।

भक्तपुरको दधिकोट गाविस–७ गाम्चाकी ३९ वर्षीया कमला श्रेष्ठलाई मिर्गौला दिने मान्छे पाए पनि रकम नहुँदा प्रत्यारोपण हुन सकेको छैन ।

श्रेष्ठले विसं २०६८ देखि दुवै मिर्गौला काम नलाग्ने भएर वीर अस्पतालमा उपचार गराउँदै हाल साताको दुई पटक डायलासिस गराइरहेकी छिन् । श्रेष्ठले हाल भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा शल्यक्रिया गरी मिर्गाैला प्रत्यारोपण गर्ने व्यवस्था मिलाए पनि त्यहाँ लाग्ने करिब १५ लाख रुपैयाँको अभाव भएपछि प्रत्यारोपण हुन नसकेको हो ।

श्रेष्ठका अनुसार उपचारमा करिब पाँच लाख खर्च हुने भए पनि मिर्गाैला दान दिने कोही नहुँदा किन्नुपर्ने अवस्था आएकाले मिर्गौला बिक्री गर्ने मानिसलाई समेत पैसा दिनुपर्ने भएकाले समस्या आएको हो ।

मिर्गौला प्रत्यारोपणका लागि श्रेष्ठको परिवारले आर्थिक सहयोग संकलन सुरु गरेको छ । श्रेष्ठ र छिमेकीले आर्थिक सहयोग गर्न दातालाई आह्वान गर्दै प्रभु फाइनान्स कम्पनीको खाता नं ०१२–००१६७ मा सहयोग रकम जम्मा गरी ज्यान बचाइदिन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us