थर नमिलेपछि दलितले भत्ता पाएनन्

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ८:५१ मा प्रकाशित

kanchanpur_district_mapकञ्चनपुर, ३० मंसिर– कञ्चनपुरको कृष्णपुर गाविस–८ मौरीफाँटाका छ जनाभन्दा बढी दलित परिवारका बालबालिकाले पोषणभत्ता पाउन सकेका छैनन् ।

महर थरका दलित परिवारका बालबालिकाले अनुसूचीमा थर समावेश नगरिँदा भत्ता पाउन नसकेका हुन् । गाविसमा भत्ताका लागि निवेदन दिँदा गाविस सचिवले अनुसूचीमा दलित भनेर सूचीकृत नगरिएकाले भत्ता दिन नसकिने भन्दै फर्काएको दलित महिला हिरादेवी महरले बताए ।

उनले गाउँका आठ परिवारका १३ बढी बालबालिका पोषणभत्ता पाउनबाट वञ्चित रहेको बताए । ‘अनुसूचीमा दलित भनेर सूचीकृत गरिएको छैन भनेर गाविसका कर्मचारीले हप्काएर पठाएपछि पुनः गाविसमा भत्ताका लागि गएका छैनौँ’, महरले बताइन् । कृष्णपुर गाविसका सचिव गणेशदत्त जोशीले अनुसूचीमा दलित भनेर महरलाई नराखिएकाले भत्ता दिन नसकिएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालय र जिल्ला दलित नेटवर्कले दलित भनेर प्रमाणित गरेर ल्याएमा भत्ताको रकम दिन सकिने बताए । ‘दलित परिवारलाई थर प्रमाणित गरेर ल्याउन भनेका हौं’, उनले भने, ‘त्यसपछि पुनः ती दलित परिवार गाविस कार्यालयमा आएका छैनन् ।’

सरकारले पाँच वर्षमुनिका एकै घरका दुई जना दलित परिवारका बालबालिकालाई पोषणभत्ताबापत मासिक रुपमा दुई सयका दरले रकम प्रदान गर्ने व्यवस्था गरेको छ । कृष्णपुरका ६९७ दलित बालबालिकालाई पोषणबापत भत्ताको रकम प्रदान गरिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us