इजिप्टमा संविधान लेख्न जनमत संग्रह

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ४:३० मा प्रकाशित

कायरो, ३० मंसिर–इजिप्टमा संविधान लेखनका लागि आगामी जनवरी १४ र १५ मा जनमत सङ्ग्रह गरिने भएको छ । शनिबार इजिप्ट सरकारले जनमत सङ्ग्रहको घोषणा गरेको हो । गत केही महिनादेखि राजनीतिक सङ्कट जारी रहेको इजिप्टमा सो निर्वाचनको आह्वान गरिएको छ ।
सो निर्वाचनपछि उक्त राजनीतिक सङ्कटको समाधान निस्किने अपेक्षा गरिएको छ । पूर्व राष्ट्रपति मोहमद मोर्सीलाई सेनाले सत्ताबाट बर्खास्त गरी हिरासदमा राखेको छ ।
संविधान सभाको निर्वाचनबाट निर्वाचित राष्ट्रपतिलाई अपदस्थ गरी जेलमा राखेको विरोधमा उनको दल मुस्लिम ब्रदरहुडले सेनाको सो कदमको विरोध गरिरहेको छ ।
सोही विरोधका कारण गत जुलाई यता एक हजार भन्दा बढीको ज्यान गएको छ । सरकारी सेनाको सहयोगमा हाल त्यहाँ सत्ता सञ्चालन भइरहेको छ ।
विश्वका विभिन्न देशले पनि निर्वाचनको माध्यमबाट चाँडै प्रजातान्त्रिक संस्थाको पुनस्र्थापना गर्न माग गरिआएका छन् ।
इजिप्टका अन्तरिम राष्ट्रपति अदली मन्सुरले शनिबार राष्ट्रिय प्रशारणमार्फत गरेको सम्बोधनमा भनेका छन–आगामी जनवरीको १४ र १५ तारिखमा देशमा जनमत सङ्ग्रहको घोषणा गरिएको छ र यसमा मतदान गर्न म सबैलाई आग्रह गर्दछु ।’
इजिप्टमा डेढ वर्षमात्र अघि संविधान सभाको निर्वाचन भएको थियो । सो निर्वाचनमार्फत नयाँ संविधान लेख्ने काममा लागेको पूर्व सरकारका राष्ट्रपति मोर्सीलाई सत्ताबाट हटाइएपछि देशमा सेनाको सहयोगको सरकारले तयार पारेको प्रस्तावित कानुन विद्यमान रहेको छ ।
स्वदेश र विदेशबाट नयाँ निर्वाचनको व्यापक मात्रामा माग आएपछि जनमत सङ्ग्रहका लागि सरकारले तयारी गरिरहेको थियो ।
प्रस्तावित नयाँ जनमत सङ्ग्रहको बारेमा पूर्व राष्ट्रपति मोर्सीको दलका तर्फबाट भने केही प्रतिक्रिया आएको छैन । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us