चीनको अन्तरिक्ष यान चन्द्रमामा अवतरण

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ४:१६ मा प्रकाशित

चीनले चन्द्रमामा मानवरहित यान सफलतापूर्वक अवतरण गराएको छ। यो गत झण्डै चालिस बर्षमा कुनै पनि देशले चन्द्रमामा यान पठाएको पहिलो सफल कार्य हो। चीनको सरकारी टेलिभिजनमा देखाइएका प्रत्यक्ष दृश्यहरुमा, बेइजींगस्थित चन्द्र अभियान टोलीका वैज्ञानिकहरुले ताली बजाएर खुशी मनाएका देख्न सकिन्थ्यो।

झण्डै अढाई लाख माइल टाढा, चीनको अन्तरिक्ष बाहनले चन्द्रमामा अवतरण गर्दाको क्षण, यो अभियानका संचालनकर्ताहरुका लागि अभूतपूर्व समय थियो। चिनको सरकारी टेलिभिजनले यो दृश्य प्रत्यक्ष देखाएको थियो। र चांग इ तेस्रो नामको अन्तरिक्ष यानको गतिविधिलाई कम्प्युटरबाट बनाइएका तस्वीरहरुको माध्यमबाट ब्याख्या गरिएको थियो। ति दृश्यहरुमा उक्त यान हल्कासंग चन्द्र सतहमा अवतरण गरेको देखाइएको थियो।

चीनभन्दा अघि जम्मा दुईवटा देशले मात्र चन्द्र सतहमा आफ्नो यान अवतरण गराउन सकेका थिए। संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघ, त्यसबेला शक्ति राष्ट्रहरु थिए।अब चन्द्रमामा यान पठाएर चीनले पनि आफ्नो बढ्दो प्राविधिक शक्ति प्रदर्शन गर्न चाहेको छ। जेडको खरायो नामक चन्द्रवाहनले तीन महिनासम्म चन्द्र सतहमा अन्वेषण गर्नेछ

अहिले जेड रयाबिट (जेडको खरायो) नाम दिइएको चन्द्रवाहन अवतरण यानबाट छुटिटएको छ।र बे अफ रेनबोज भनिने ज्वालामुखी निर्मीत समथर सतहमा गुड्न थालेको छ। आइतबार देखि नै उक्त रोबोट वाहनले चन्द्र सतहको अन्वेषण गर्न थाल्नेछ र आगामी तीन महिनासम्म त्यहां कुनै दिन चीनले प्रयोग गर्न सक्ने खनिज र उर्जाका स्रोतहरुको खोज गर्नेछ।

बेइजींगस्थित एकजना बीबीसी सम्बादाता भन्छन् यो समग्र अभियान उच्चतम वैज्ञानिक उपलब्धीको परिणाम हो। तर चीनले यस्लाई बैज्ञानिक क्षमताका रुपमा भन्दा पनि, चन्द्रमासम्म पुगेर आफूलाई उदाउंदो शक्तिका रुपमा प्रस्तुत गर्ने सफल भएको संकेतलाई बढी महत्व दिएको छ। BBC Nepali Service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us