
काठमाण्डु, ३० मंसिर– नेपाली काँग्रेस संसदीय समितिको बैठक समानुपातिक सभासदको सूची तयार पार्न आइतबार पनि असफल भएको छ ।
आइतबार सहमति हुन नसकेपछि थप छलफलका लागि भन्दै सोमबार बिहानसम्मका लागि बैठक स्थगित गरिएको छ । काँग्रेस संसदीय बोर्डका सदस्य तथा सहमहामन्त्री पूर्णबहादुर खड्काले शीर्ष नेताहरुबीच थप छलफल गरी समानुपातिक सभासदहरुको अन्तिम सूची तयार पार्ने बताए ।
अन्तिम सूची तयार भएपछि अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा पेश गरिने नेता खड्काले जानकारी दिए । काँग्रेसको केन्द्रीय समितिको बैठक पुस ३ गतेका लागि बोलाइएको छ ।
सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवापक्षबीच समानुपातिक सभासद चयनमा विवाद हुँदै आएको छ । आन्तरिक विवादका समानुपातिक तर्फका ९१ सभासद छान्न काँग्रेसलाई धौधौ परेको छ ।
यसअघि काँग्रेसकै आग्रहमा निर्वाचन आयोगले समानुपातिक तर्फका सभासदको अन्तिम नामावली बुझाउन ८ दिनको म्याद थप्दै पुस ३ गतेसम्मको समयसीमा तोेकेको छ ।