एकीकृत माओवादीबाट पूर्वपोलिट्ब्युरो बैठक आह्वान

काठमाण्डु टुडे २०७० मंसिर ३० गते ४:३१ मा प्रकाशित

maoist-officeकाठमाण्डु, ३० मंसिर– एकीकृत माओवादीले राजधानीमा उपलब्ध पूर्वपोलिट्ब्युरो सदस्यहरुको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान बसेको हेर्डक्वाटर बैठकले उच्चस्तरीय राजनीतिक समिति बैठकअघि पूर्वपोलिट्ब्युरोको बैठक बोलाएको हो । बैठक दिउँसो २ बजेपछि बस्ने नेता पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए  ।

उनका अनुसार उच्चस्तरीय राजनीतिक समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न पूर्वपोलिट्ब्युरोको बैठक डाकिएको हो । एमाओवादीले निर्वाचनमा भएको भनिएको धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र छानविन आयोग गठन गर्न दुई ठूला दल काँग्रेस र एमालेसँग माग गर्दै आएको छ । यस्तै बैठकमा निर्वाचनमा पार्टीले पराजय भोगेको विषयमा शीर्ष नेतृत्वतहबाट फरकफरक धारणा बाहिर आएको विषयले समेत प्रवेश पाएको स्रोतले जनायाे ।

नेता बाबुराम भट्टराईले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु पराजित हुनुमा बाह्यभन्दा आन्तरिक कारण मुख्य रुपमा जिम्मेवार रहेको विचार सार्वजनिक गरेका थिए । अर्का नेता नारायणकाजी श्रेष्ठले पनि सोही आसयको अभिव्यक्ति दिँदै आएका छन् ।

लाजिम्पाट स्रोतका अनुसार पार्टी निर्णयविपरीतको अभिव्यक्ति दिँदै हिंडेकामा पछिल्लो समय भट्टराई र श्रेष्ठसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुष्ट छन् । आजको बैठकले उनले संस्थागत निर्णयभन्दा बाहिर गएर अभिव्यक्ति नदिन भट्टराई र श्रेष्ठको ध्यानाकर्षण गराएका थिए । माओवादीले औपचारिक रुपमा भने निर्वाचनमा संस्थागत, नीतिगत र संरचनागत धाँधली भएको निष्कर्ष निकालेको छ ।

निर्वाचनको परिणाम आउँदै गर्दा राजधानीमा बसेको केन्द्रीय समिति बैठकले निर्वाचनमा पराजित हुनुको कारण धाँधली भएको निष्कर्ष निकालेको थियो । नेता वर्षमान पुन नेतृत्वको आन्तरिक छानविन समितिले समेत धाँधली नै पराजयको मुख्य कारण रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us