उच्चस्तरीय राजनीतिक समिति बैठक बस्दै

काठमाण्डु टुडे २०७० मंसिर ३० गते २:५३ मा प्रकाशित

high lavel commiteeकाठमाण्डु, ३० मंसिर–प्रमुख दल सम्वद्ध उच्चस्तरीय राजनीतिक समिति बैठक आज पुन: बस्दैछ ।
बैठक अपराह्न ४ बजेपछि बबरमहलस्थित शान्तिकोषको सचिवालयमा बस्ने नेताहरुका सहयोगीले बताएका छन् । बैठकअघि दलहरु आन्तरिक तथा बाह्य छलफलमा जुट्दैछन् । काँग्रेस–एमालेले एकीकृत माओवादीलाई मनाउन मध्यमार्गी प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
माओवादीले भनेजस्तो निर्वाचनमा भएको भनिएको धाँधली छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग अस्वीकार गरेका उनीहरुले आयोगको साटो संसदीय समिति गठनको प्रस्ताव लैजाने भएका छन् ।
यस्तै संघीयताको एजेण्डाप्रति एकीकृत माओवादीको शंका मेटाउन धर्म निरपेक्षता, समावेशीसहित सबै विषयमा पुन: प्रतिबद्धता जनाउने भएका छन् । निर्वाचनमा संस्थागत, नीतिगत र संरचनागत धाँधली भएको दाबी गर्दै आएको एकीकृत माओवादीले आफूले भनेअनुसार आयोग गठन नभएसम्म संविधानसभामा नजाने अडान राख्दै आएको छ ।  ‘शीर्ष नेताहरूबीच औपचारिक र अनौपचारिक रूपमा छलफल हुन्छ र सहमतिको दस्तावेज निकाल्ने छ, काँग्रेस महामन्त्री कृष्ण सिटौलाले भने,‘मलाई विश्वास छ, आज बेलुकीसम्ममा निष्कर्षमा पुग्छौं । छिटो संविधानसभाको बैठक बोलाउनेतर्फ राजनीतिक प्रक्रिया अघि बढ्छ ।’
यस्तै आजको बैठकमा उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिने वा नदिने भन्नेमा समेत छलफल हुने बताइएको छ । यसअघि हिजो बसेको बैठकमा समितिको म्याद थप गर्ने/नगर्नेमा विवाद भएको थियो । काँग्रेस, एकीकृत माओवादी र मधेसी मोर्चा खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार रहेसम्म समितिलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

एमालेले भने ताजा जनादेश आएकाले समितिको औचित्य सकिएको बताएको छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड संयोजक रहेको समितिको म्याद आज सकिदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us