
काठमाण्डु, २९ मंसिर– एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेससँग आफ्नो पार्टीको प्रतिस्पर्धा र सहकार्य एकै साथ हुने बताएका छन् ।
नेकाका विभिन्न कार्यकर्ताको पार्टी प्रवेशका लागि केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले संविधानसभा निर्वाचनको जनादेशअनुसार आफूहरूले काँगेससँग मुख्य प्रतिस्पर्धा र सहकार्य गर्दै लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्ने बताएका हुन् ।
अघिल्लो संविधानसभामा उग्रवामपन्थले हस्तक्षेप गरेका कारण संविधान बनाउन नसकिएको भन्दैै विगतमा भएका उपलब्धिको रक्षा गरी नयाँ संविधान निर्माण गरिने उनले बताए । खनालले भने, ‘काँग्रेससँग नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै हाम्रो प्रतिस्पर्धा रहँदै आएको छ, उहाँहरू समाजवादको नारामा औपचारिक लोकतन्त्रको कुरा गर्नुहुन्छ, हामीहरू साम्यवादको लक्ष्यका साथ आमूल परिवर्तनको पक्षमा छौं ।’
उनले काँग्रेसकै कारण नेपालका विभिन्न समयमा अधिनायकवाद निरङ्कुशता जन्मेको भन्दै उहाँले निर्वाचनका आखिरी दिनमा आर्थिक चलखेल र वितरणका कारण एमाले पहिलो पार्टी बन्न नसकेको बताए । आगामी दिनमा गरिब र श्रमजीवीले पनि निर्वाचन लड्न सक्ने प्रणालीको पक्षमा आफूहरूले पहल गर्ने विश्वास पनि खनालले दिलाए ।