मूल्यसूची टाँस्न बाँस्कोटाको निर्देशन

काठमाण्डु टुडे २०७० मंसिर २९ गते १०:४६ मा प्रकाशित

krishna-hari-baskotaकाठमाण्डु, २९ मंसिर– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले आफ्नो पसल तथा व्यवसायमा मूल्यसूची टाँस गर्न र उपभोक्तालाई सही सूचना दिन निर्देशन दिएका छन् ।

कालिमाटी तरकारी तथा फलफूल बजारमा शनिबार आयोजित कार्यक्रममा उनले स्थानीय व्यापारी तथा व्यवसायीहरूलाई मूल्यसूची टाँस्न र आफ्नो सामानको उचित जानकारी दिन आग्रह गरेका हुन् ।

उनले रासायनिक विषादीको सट्टा जैविक विषादी प्रयोग गरिएको, आइपिएम पद्धतिद्वारा उत्पादित स्वस्थ तरकारी बिक्री गर्ने र तरकारी तथा फलफूलका क्षेत्रमा नमुना बजारका रूपमा स्थापित हुने गरी काम गर्न सम्बन्धित पदाधिकारीहरूलाई निर्देश गरे ।

उनले व्यवसायीलाई मूल्य सूची टाँस गर्न, तिनलाई स्टल नम्बर दिन, बिल बीजक जारी गर्न र गुणस्तरीय ढक तराजु प्रयोग गर्नसमेत आग्रह गरेका थिए । कुल ४५ रोपनीमा फैलिएको यस बजारमा बहुतले भवन निर्माण गरी भुइँतलामा पार्किङ, माछा र मासु, पहिलो तलामा हरियो तरकारी, दोस्रो तलामा फलफूल, तेस्रो तलामा रेष्टुराँ गरी बहुतले घर व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

हाल सो बजारमा ३८१ थोक र ७० खुद्रा व्यापारीको स्टल रहेको छ । कार्यक्रममा समितिका अध्यक्ष मोहनबहादुर चापागार्इंले बजारको अवस्था र समस्याको बारेमा जानकारी गराएका थिए ।

दैनिक रु दुई करोडबराबरको बिक्री हुने यस बजारमा औषतमा ६४४ मेट्रिक टन तरकारी बिक्री हुने गरेको छ । यहाँ बिक्री गरिने वस्तुमा तरकारीको हिस्सा ८३.३१ प्रतिशत, फलफूल ११.६३ प्रतिशत, मसला ३.६३ प्रतिशत, माछा १.१३ प्रतिशत र अन्यको हिस्सा ०.२९ प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us