अनुमति नलिएका चार निजी विद्यालय बन्द, विद्यार्थी अन्यत्र लैजान निर्देशन

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ८:०९ मा प्रकाशित

चितवन २९ मंसिर–जिल्ला शिक्षा कार्यालय चितवनले चार वटा निजी विद्यालय बन्द गरेको छ । यहाँका विभिन्न क्षेत्रमा अनुमति नलिई सञ्चालनमा रहेका विद्यालयलाई बन्द गरिएको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए । बन्द भएका विद्यालयमा सबै पूर्वी चितवनका छन् । बन्द गरिएका नीजि बिद्यालयमा चितवन चैनपुरको आदर्श इङ्लिस बोर्डिङ र बुद्धशान्ति बोर्डिङ, दाहखानी गाविसको चतुर्मुखी बोर्डिङ, पिप्लेको दीपज्योति इङ्लिस बोर्डिङ स्कुल रहेको शिक्षा कार्यालयले जनाएको छ  ।
पटक पटकको निर्देशन अटेर गरेपछि बाध्य भएर बन्द गर्नुपरेको शिक्षा अधिकारी शर्माले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अन्यत्र सार्ने अभिभावकलाई शनिवार सार्वजनिक सूचनासमेत जारी गरिएको छ ।
बन्द नगरिए कानुनअनुसार कारबाही गरिने कार्यालयले जनाएको छ । अनुमति नलिएका सातमध्ये तीनवटा यसअघि नै बन्द भइसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us