मजदुरका सन्तानका लागि छुट्टै कक्षा

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ५:४५ मा प्रकाशित

भक्तपुर, २९ मंसिर–इँटा बनाउने समय सुरु भएपछि इँटा उद्योगमा कार्यरत मजदुरका छोराछोरीलाई लक्ष्य गरी फैढोका निमाविले विशेष पढाइ सुरु गरेको छ ।
फैढोका निमाविमा तीनकोठे भवन निर्माण गरिएपछि यस वर्षबाट पढाइ सुरु भएको हो । विद्यालयका प्रधानाध्यापक महावीर अमात्यले मजदुरका सन्तानका लागि छुट्टै पढाइ सुरु भएपछि पाँच वर्षदेखि १४ वर्षसम्मका १०० विद्यार्थी अध्ययन गर्न आउने गरेको जानकारी दिए ।
मजदुरका छोराछोरीका लागि मात्र छुट्टै कक्षाको व्यवस्थापन गरी चार सहयोगी कार्यकर्तामार्फत कक्षा सञ्चालन भइरहेको छ । काठमाण्डु उपत्यका तथा उपत्यका बाहिरका विभिन्न ठाउँबाट इँटा उद्योगमा मजदुर बाबुआमासँगै आउने छोराछोरीलाई शिक्षित पार्ने उद्देश्यले विद्यालयको पहलमा भवन निर्माण भएको थियो ।
‘बालबालिकाका लागि मानवतावादी ट्रस्ट नेपाल (एचटीसी)’ को आर्थिक सहयोग र ताथली गाविसमा सञ्चालित सरस्वती फिक्स इँटा उद्योग, माझी भैरव इँटा उद्योगलगायतको सहयोगमा सो भवन निर्माण भएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us