आज वैद्यले केन्द्रीय समितिमा जवाफ दिने

काठमाण्डु टुडे २०७० मंसिर २९ गते २:२६ मा प्रकाशित

काठमाण्डु, २९ मंसिर– राजधानीमा जारी नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष मोहन वैद्यले आफ्नो प्रतिवेदनमा सदस्यहरुले mohanउठाएको प्रश्नको जवाफ दिँदैछन् ।
बैठक आज पनि बिहान ११ बजेपछि पार्टी कार्यालय बुद्धनगरमा बस्ने बताइएको छ । आजको बैठकमा बोल्न बाँकी केही सदस्यले धारणा राखेपछि अध्यक्ष वैद्यले बैठकमा उठेका विषयमा जवाफ दिने केन्द्रीय सदस्य रामदीप आचार्यले जानकारी दिए । हालसम्म बोल्ने एक सयभन्दा बढी सदस्यले अध्यक्ष वैद्यले पेस गरेको कार्यदिशासम्बन्धी प्रस्ताव अस्पष्ट रहेको भन्दै स्पष्ट गर्न माग गरेका छन् ।
संविधानसभा निर्वाचन बहिस्कार आन्दोलन सफल भए पनि प्रतिवेदनमा भावी कार्यदिशा स्पष्ट नगरिएको भन्दै उनीहरुले नेतृत्वको आलोचना गरेका छन् । जनयुद्धको जगमा जनविद्रोहको औचित्य पुष्टि गर्न नेतृत्वलाई उनीहरुको दबाब छ ।
अध्यक्ष वैद्यको प्रस्तावमा संविधानसभा विघटन गरी गोलमेच सम्मेलनमार्फत राजनीतिक निकास, सर्वपक्षीय सरकार र अग्रगामी संविधानको अन्तर्वस्तुमा सहमतिका लागि दबाब सिर्जना गर्ने उल्लेख छ । आइतबारदेखि जारी बैठक आज अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गर्दै सकिने सम्भावना हरको आचार्यले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us