संसदका कर्मचारीलाई इमान्दार बन्न महासचिवको निर्देशन

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर–व्यवस्थापिका–संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संविधानसभालाई सफल बनाउन संसद सेवाअन्तर्गतका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने भएकाले यसपटक पनि सो भूमिका इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरेका छन ।
    व्यवस्थापिका–संसद सेवा दिवस २०७० को अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले विगतमा पनि संसद सेवाअन्तर्गतका कर्मचारीहरूको भूमिका उदाहरणीय रहेको भन्दै यसपटक पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका हुन ।
    प्रशासन, राजश्वलगायतका सेवाहरूमा जस्तो यो सेवामा त्यति धेरै आकर्षण नभएपनि यो सेवा राष्ट्र निर्माण र जनतासँग जोडिएको सेवा भएकाले त्यसको जिम्मेवारीलाई आत्मसाथ गर्न पाउनु नै महत्वपूर्ण भएको अनुभव गर्नसमेत उनले आग्रह गरे ।
    संसद सेवाअन्तर्गतका कर्मचारीको वृत्ति विकासको लागि आफूले सक्ने जति पहल गरिरहेको बताउँदै संसद सेवा पुरस्कार पनि केही समयपछि नै वितरण गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कर्मचारी युनियनका अध्यक्ष सञ्जय दाहालले यस सेवामा आर्कषण बढाउन नीतिगत तथा संस्थागत सुधार गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रममा संसद सेवा दिवसको अवसरमा आयोजना गरिएको कविता वाचन, खेलकुद प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, रक्तदान, अन्तरक्रियालगायतका कार्यक्रमका विजेताहरूलाई पुरस्कृत गरिएको थियो  भने व्यवस्थापिका संसद सेवा दर्पण स्मारिकाको विमोचनसमेत गरिएको थियो ।
    निजामति सेवाअन्तर्गत रहेको तत्कालीन संसद सेवालाई २०५८ मङ्सिर २८ गतेदेखि छुट्टै ऐनद्वारा सञ्चालित गर्ने गरी संसद सचिवालय सम्बन्धी ऐन, २०५८ जारी भएको दिन हरेक वर्ष मंसिर २८ लाई आधार मानी सोही दिनको सम्झनास्वरुप व्यवस्थापिका–संसद सेवा दिवस मनाउन लागिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us