इन्टरनेटमा यौन उत्तेजक भिडियो हेर्ने प्रवृत्ति बढेपछि आमाबाबुलाई टाउको दुखाइ

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १३:१९ मा प्रकाशित

internetकाठमाण्डु, २८ मंसिर– इन्टरनेट र सामाजिक सञ्जाल फेसबुकलगायतको विकास र विस्तारसँगै त्यसबाट भित्रिएको विकृति अभिभावकलाई अहिले टाउको दुखाइ बनेको छ ।

युवा पुस्ता मात्र नभएर बालबालिकासमेत इन्टरनेट र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर र भिडियो डाउनलोड गरी हेर्ने प्रवृत्ति बढेपछि अभिभावकको टाउको दुखाइ  विषय बनेको हो ।

सामाजिक सञ्जालको सबैभन्दा बढी प्रयोगकर्ता  उच्चमाध्यामिक तहका विद्यार्थी भए पनि त्यसको दुरुपयोग गरी अश्लील र यौन उत्तेजक तस्वीर र भिडियो हेर्नेमा उनीहरु नै अग्रपङ्क्तिमा देखिएका छन् । नयाँ प्रविधिको विकाससँगै फैलने विकृति र विसङ्गतिलाई निरुत्साहित गर्न प्रमाणीकरण नियन्त्रण कार्यालयले मुलुकभर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

त्यस्ता अश्लील तस्वीर राख्ने, हेर्ने र प्रतिक्रिया दिने कार्य साइवर अपराधका दायराभित्र पर्ने भएकाले सो कार्यालयले जिल्ला जिल्लामा गएर अभिभावक, शिक्षक, गैरसरकारी संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालासँग समेत अन्तक्र्रिया गरी जनचेतनाको अभियानलाई तिव्रता दिँदै आएको नियन्त्रक लक्ष्मीप्रसाद यादवले जानकारी दिए ।

‘फेसबुक र इन्टरनेटको प्रयोग गर्ने नाममा आफ्ना सन्तति कुलतमा त फसेका छैनन्’ भन्ने पाटोलाई अभिभावकले अत्यन्त गम्भीरताका अनुगमन गर्न जरुरी रहेको बताउँदै उनले इन्टरनेट हेर्न अभिभावकले बालबालिकालाई सबैको सजिलोसँग पहँुच हुने बैठक कोठालगायतका स्थानको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए ।

सूचना प्रविधिसँगको सजिलो पहुँच, यसको व्यापक बजारीकरण, विश्वव्यापी सञ्जालले समेत जन्माएका यस्ता विकृतिलाई रोक्न विभिन्न मुलुकमा आ–आफनै धर्म, संस्कृति र रहनसहनको पक्षलाई समेत ध्यानमा राखेर साइवर अपराध नियन्त्रणका लागि कानून कार्यान्वयनमा ल्याइएका छन् ।

पछिल्लो समय युवा पुस्तामा मात्र नभई बालबालिकाबाट समेत त्यस्ता वेवसाइटभित्र गएर अश्लील तस्विर र भिडियो हेर्ने गरेका घटनामा वृद्धि भएको जनगुनासा अभिभावकबाट अनौपचारिक तर बाक्लोरुपमा सुनिन थालेको नियन्त्रक यादव स्वीकार्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us