भगत सिंहलाई थुन्नुको कारण दिन सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १२:५६ मा प्रकाशित

Bhagat_Singh_nepalकाठमाण्डु, २८ मंसिर– सर्वोच्च अदालतले जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका अध्यक्ष भगत सिंह भनिने अर्जुन सिंहसँग भएको सहमतिका कागजात र उनले हतियार बुझाएको भरपाईसहित तीन दिनभित्र उपस्थित हुन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश रामकुमारप्रसाद साहको एकल इजलासले शुक्रबार जारी गरेको कारण देखाउ आदेशमा बाँके जिल्लास्थित कारागारमा भगतको आफ्ना कानुन व्यवसायी र परिवारसँग भेटघाटको व्यवस्था मिलाउन पनि भनेको छ ।

तत्कालीन जनयुद्धका समयमा (२०६० सालमा) मधेसी जनताको हक र अधिकारको सुनिश्चितताका लागि सशस्त्र सङ्घर्षमा उत्रिएको सो पार्टीसँग २०६८ माघ ११ मा सरकारले शान्ति वार्तामा आउन आह्वान गरेपछि सरकारका तर्फबाट तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री सत्या पहाडी र सो पार्टीका तर्फबाट प्रह्लाद महराको नेतृत्वमा फागुन १३ मा लुम्बिनीमा शान्ति वार्ता भएको थियो ।

सो वार्तापछि २०६९ साउन २० मा सुनसरीको पकलीमा पुनः भएको वार्तामा पाँचबुँदे सहमति भई सरकारलाई हतियार बुझाइएको थियो । तर सहमतिविपरीत यही मङ्सिर १४ गत पुनः पक्राउ गरेकाले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न माग गर्दै भगतका छोरा महेश सिंह सोडीले हिजो रिट दायर गरेका थिए ।

सो रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us