पत्रकार महासंघमा विवाद चुलियो

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १२:४३ मा प्रकाशित

fnj logoकाठमाण्डु, २८ मंसिर– नेपाल पत्रकार महासंघको शाखा अधिवेशन र महाधिवेशन नजिकिँदै गर्दा सदस्यता वितरणका विषयमा नविवाद चुलिएको छ ।

जिल्ला र शाखाले सिफारिस गरेभन्दा थपघट गरेर महासंघको केन्द्रीय समितिले सदस्यता वितरण गरेको भन्दै विभिन्न समाचार प्रकाशित भएपछि त्यसमा ध्यानाकर्षण भएको भन्दै केन्द्रीय अध्यक्ष शिव गाउँलेले एकपक्षीय समाचार आएको बताएका छन् । तर, महासंघको केन्द्रीय सचिव जगत नेपाल लगायतले अध्यक्षले एकपक्षयि निर्णय गरेको भन्दै निर्णय नमान्ने बताएका छन् ।

अध्यक्ष गाउँलेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल पत्रकार महासंघको विधान, यसको स्वीकृत विधि र परम्पराभन्दा बाहिर गएर सदस्यता वितरणको कार्य हुँदैन । कहिँ कतै भएमा त्यसलाई विधानअनुसार सच्याइने छ । र, महासंघ मुलुकका सबै पत्रकारहरुको साझा भावनाअनुसार चल्ने कुरामा कुनै सम्झौता हुँदैन ।’

शाखामा सदस्यता वितरणमा देखिएको समस्या सुल्झाउन संगठन समिति र केन्द्रीय समितिको २०७० असोज दोस्रो साता भएको निर्णय र सहमतिको आधारमा अघि बढ्न तुरुन्तै संगठन समिति र केन्द्रीय कार्यसमितिको बैठक आहृवान हुने जानकारी गराउँदै उनले यस्ता कुनै पनि मामिलाको सहमतिका आधारमा हल खोजिने बताएका छन् ।

विज्ञप्तिको प्रतिक्रिया दिँदै केन्द्रीय सचिव जगत नेपालले आफूहरुले एकपक्षीय समाचार प्रकाशित नगरेको भन्दै अध्यक्षले मनोमानी रुपमा विधान विपरित सदस्ता विरण गरेको दावी गरे । उनले काठमाण्डु टुडेसँग भने, ‘पत्रकार महासंघको विधानको धारा ५ को क, ख र ग को  विपरित सदस्यता वितरण हुने काम भएको छ, यो आपत्तिपूर्ण छ ।’

यसअघि नेतृत्वले सदस्यता वितरण विधानविपरित निर्णय गरेको भन्दै सचिव नेपालसहित पाँच सदस्यले नोट अफ डिसेन्ट लेखेर बैठक वहिष्कार गरेका थिए ।

सदस्यता वितरणमा जिल्ला शाखाले सर्वसम्मत स्वीकृत गरेकालाई सदस्यता वितरण गर्ने र जिल्ला शाखाले स्वीकृत नगरेकाको हकमा छानविन गर्नुपर्ने प्रावधान मिचेर केन्द्रीय नेतृत्वले निर्णय गरेको सचिव नेपालको भनाए छ ।

नेपालका अनुसार जाजरकोट, काभ्रे, नवलपरासी, भक्तपुर लगायतका जिल्लामा सदस्यता नपाएपछि उजुरी दिएकाहरुको विषयमा कुनै अध्ययन नै नगरि अस्वीकृत गरिएको छ । विधान विपरित वितरणमा गरिएको निर्णय बदर गर्नुपर्ने र उजुरी दिएकाहरुको हकमा पनि अध्ययन गर्नुपर्ने आफूहरुको माग रहेको नेपालले बताए ।

क्रान्तिकारी पत्रकार संघ केन्द्रीय समिति

 प्रेस–विज्ञप्ति

नेपालका पत्रकारहरुको साझा र छाता संस्थाका रुपमा रहेको नेपाल पत्रकार महासंघको सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा भएको भेदभाव, किर्ते र धाधलीप्रति क्रान्तिकारी पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ । क्रान्तिकारी पत्रकार संघमा आवद्ध क्रियाशील पत्रकारहरुले सदस्यता प्राप्तिका लागि पेश गरेको आवेदन कैयौ जिल्लामै गायव बनाइ जिल्लाले एकलौटी ढंगले सदस्यता शिफारिस गर्नु, झापा, रामेछाप, ललितपुर, बाँकेलगायतका जिल्लामा जिल्ला कार्य समितिले सर्वसम्मतवाट सदस्यता स्विकृत गरी अनुमोदनका लागि केन्द्रमा पठाएका नामावलीमा केन्द्रवाट विधान विपरीत हुने गरी थपघट गरिनु जस्ता घटनाले पत्रकार महासंघलाई कुनै राजनीतिक दलको भातृ संस्थामा बदल्न त खोजिएको छैन भन्ने गम्भीर आशंका पैदा भएको छ । अझ महासंघ केन्द्रवाट कथित उजुरी र विवाद भएको भन्ने नाममा कुनै राजनीतिक दल निकटका पत्रकारहरुको नाममात्रै थपिनु तथा क्रान्तिकारी पत्रकारहरुको आवेदन रद्धीको टोकरीमा मिल्काइनु एवम् क्रान्तिकारी पत्रकारहरुको सदस्यता नवीकरण नगरिनु जस्ता घटनाले यो आशंकालाई थप बल पु¥याएको छ । क्रान्तिकारी पत्रकार संघ विधान वमोजिम योग्यता पुगी सदस्यताका लागि आवेदन दिने सबै क्रियाशील पत्रकारहरुले सदस्यता पाउनु पर्दछ भन्ने मान्यता राख्दछ । जिल्ला कार्य समितिले सर्वसम्मत निर्णय गरी पठाएका नामहरु यथासिघ्र अनुमोदन गर्न तथा केन्द्रवाट मनोमानी ढंगले थपघट भएका नामहरु रद्ध गर्न माग गर्दछ । साथै सदस्यता सम्वन्धी विवाद हल गर्न सर्वपक्षीय छानविन समिति बनाई टुंगो लगाउन पनि जोडदार माग गर्दछ । नेपालको लोकतान्त्रिक आन्दोलन एवम् प्रेस स्वतन्त्रताको आन्दोलनमा गौरवपूर्ण इतिहास बोकेको पत्रकार महासंघको गरिमा र मर्यादा माथि आँच पुग्ने गरी कुनै कार्य नगर्न तथा श्रमजीवी पत्रकारहरुको बृहत्तर हितमा ध्यान दिंदै महासंघलाई सिघ्र समावेशी ढाँचामा रुपान्तरण गर्ने दिशामा अघि बढ्न महासंघ केन्द्रीय समितिलाई आग्रह गर्दछ ।

                                                                                                         मिति २०७०/०८/२८

गोविन्द आचार्य

संयोजक

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us