जवर्जस्ती गरे ठिक नहुने पौडेलको चेतावनी

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १०:०४ मा प्रकाशित

debendra paudelकाठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीका नेता देवेन्द्र पौडेलले संविधानसभाको निर्वाचन गराउन सबैभन्दा महत्वपूर्ण भूमिका आफूहरुले खेलेकोले संविधानसभाको प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पार्दै जवर्जस्ती लेखिए ठिक नहुने चेतावनी दिएका छन् ।

निर्वाचनमा भएको धाँधलीको छानविन र सहमतिको आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता नआएसम्म आफूहरु संविधानसभामा नजाने भन्दै नभए अधिकार प्राप्तिकोलागि फेरि जनतामा जाने उनले चेतावनी दिएका हुन् ।

काठमाण्डुमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले जनादेश सहमतिबाट मुलुक चलाउनु भनेर जनताले दिएको भन्दै सबै दलहरुले सहमतिमा मुलुकलाई अघि बढाउनु पर्नेमा जोड दिए । नयाँ संविधानसभाको निर्वाचन भएको हो भने सबै संवैधानिक निकाय नयाँ बनाउनु पर्ने र पुरानो संविधानसभाले बनाएका संवैधानिक समितिहरु राख्न नहुने उनको तर्क थियो ।

कोइरालाको नेतृत्वको सरकारः खड्का

साक्षात्कारमा काँग्रेस नेता डा.नारायण खड्काले पार्टी सभापतिको नेतृत्वमा पार्टी चुनावमा गएर ठूलो पार्टी बनेकोले उनकै नेतृत्वमा पहिलो दावी हुने बताए ।

उनले भने, ‘पार्टीले हारेको भए उहाँले नैतिकताको आधारमा सभापति पदबाट राजिनामा दिनु पर्दथ्यो, जितेकोले सरकारको नेतृत्वमा उहाँकै दावी पहिलो हुन्छ । सभापति प्रत्यासी हो, अरु आकांक्षी र महत्वकांक्षी हुन् ।’

राष्ट्रपतिको निर्वाचनको विषय चुनाव अघि कुनै पनि दलले आफ्नो घोषणापत्रमा उल्लेख नगरेकोले त्यो जनादेश नभएको भन्दै उनले राष्ट्रपति परिवर्तन गर्ने भए दुई तिहाई बहुमत ल्याएर महाअभियोगमार्फत हटाउन एमालेलाई चुनौती दिए ।  खड्काले भने, ‘जनादेश एक वर्षभित्र संविधान बनाउन हो, राष्ट्रपति परिवर्तन गर्न होइन ।’

राष्ट्रपतिमा दावी छैनः गुरुङ

राप्रपा नेपालका महामन्त्री चन्द्रबहादु गुरुङले नयाँ जनादेश आएकोले राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन हुनु पर्ने भए पनि आफ्नो पार्टीको त्यसमा दावी नभएको उल्लेख गरेका छन् ।

पार्टी सरकारमा नगई प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पार्दै उनले भने, ‘सबै दल सरकारमा गए सर्वसत्तावाद हुन्छ त्यसैले हामि प्रतिपक्षमा बसेर निगरानी गर्छौ ।’

गुरुङले गणतन्त्रको विचार बोकेको एमाओवादीलाई जनताले निरुत्साहित र राजासहितको प्रजातन्त्रको विचार बोकेको राप्रपा नेपाललाई प्रोत्साहन गरेको  तर काँग्रेस र एमालेलाई समन्वय गरेर संविधान बनाउने जनादेश दिएकोले दुवै विचारमा समन्वय गरेर अघि बढ्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us