एमाले नेताले भनेः चुनावमा धाँधली भएकै हो

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ९:४९ मा प्रकाशित

raghubir mahasethकाठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीसहित केही दलहरुले दोस्रो संविधानसभाको निर्वाचनमा धाँधली भएको भनिरहेका बेला एमालेका एक नेताले पनि निर्वाचन धाँधलीपूर्ण भएको दावी गरेका छन् ।

एमालेका नेता रघुवीर महासेठले निर्वाचनमा धाँधली भएको दावी गर्दै त्यसको छानविनको लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गरेका हुन् । एमालेले धाँधली भएको भन्ने आरोपको खण्डन गरिरहेको बेला उनले आफू उम्मेदवार बनेको धनुषा–५ मा राष्ट्रपति डा.रामवरण यादव र सुरक्षाका तीनै निकायले प्रत्यक्ष रुपमा धाँधली गरेको उनले बताएका छन् ।

अरु क्षेत्रमा पनि धाँधली भएन भन्ने ठाउँ छैन

रिपोर्टर्स क्लब काठमाण्डुमा आयोजित साक्षात्कारमा शुक्रबार उनले भने, ‘अरु क्षेत्रमा पनि धाँधली भएन भन्न सक्ने अवस्था छैन, प्रश्न उठेपछि आयोग गठन गरेर आशंकाको समाधान गर्नु पर्छ ।’

त्यो बेलाको राष्ट्रपतिको कलडिटेल चेक गरे पुष्टि हुन्छ । पत्रकार, मानवअधिकारवादी र पर्यवेक्षक स्वयमले अनुभव गरेका छन्, १८ सय मतपत्र निर्वाचनको अघिल्लो दिन नै लगिएको छ’, आफ्नो क्षेत्रमा धाँधली गर्न राष्ट्रपति नै लागेको बताउँदै महासेठले बताए, ‘मेरो क्षेत्रमा धाँधली भयो भने अरु क्षेत्रमा भएन भनेर भन्न सकिने अवस्था छैन । त्यसैले प्रश्न उठिसकेपछि छानविन आयोग गठन गरे केही फरक पर्दैन ।’

निर्वाचन आयोग पनि संलग्न

एमाले नेता महासेठले निर्वाचन धाँधलीमा निर्वाचन आयोग पनि संलग्न भएको आरोप लगाउँदै निर्वाचनको दिन जारी भएको १० बुँदे परिपत्र त्यसको उदाहरण भएको दावी समेत गरे ।

महासेठले २०४८ सालको निर्वाचनपछि पनि धाँधली भएको भन्ने आशंकाको छानविन भएको उदाहरण प्रस्तुत गर्दै अहिले पनि छानबिन गर्दा अकाश नखस्ने बताए ।

काँग्रेस नहटे नयाँ निर्वाचन

संविधानसभाको निर्वाचन मार्फत नयाँ जनादेश आईसकेकोले राष्ट्रपतिको नयाँ निर्वाचनको विकल्प नभएको भन्दै काग्रेस परिवर्तन गर्न नहुने अडानबाट पछि नहटे संविधानसभाबाटै बहुमत पु¥याएर नयाँ निर्वाचन गर्ने चेतावनी दिए ।

उनले भने, ‘काँग्रेस नमाने एमाओवादी र हामिसहितका दलहरु मिलेर राष्ट्रपतिको निर्वाचन गराउँछौ । ढुक्क हुनुस राष्ट्रपति परिवर्तन हुन्छ । यो भन्दा राम्रो राष्ट्रपतिले आफै राजिनामा दिए, उहाँको सम्मान कायम हुन्छ ।’

‘काग्रेसले जे भन्छ त्यो मात्रै हुँदैन । राजनीतिमा खाए खा नखाए घिच भन्ने व्यवहार चल्दैन’ उनले भने । महासेठले पार्टीगत स्वार्थमा अल्झिए फेरि पनि संविधान नबन्ने ठोकुवा गर्दै एमाओवादीलाई साथ नलिए फेरि पनि संविधान नबन्ने भएकोले दलहरु सहमतिको साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us