
ललितपुर, २८ मंसिर–राजधानी काठमाण्डु आएका स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण जावलाखेलस्थित सदर चिडियाखानालाई समयअनुकूल आधुनिक र व्यवस्थित गराउन त्यहाँ पालिएका वन्यजन्तुको खोर सुधारमा चिडियाखाना व्यवस्थापनले चासो दिएको छ ।
प्राकृतिक मनोरमस्थल सदर चिडियाखाना यातायातको सहज उपलब्धता भएका कारण काठमाण्डु उपत्यकामा भित्रिएका पर्यटकको पहिलो रोजाइ बनेकाले यसको व्यवस्थापकीय सुधारका निम्ति सदर चिडियाखाना आफँैले अग्रसरता लिएको कार्यक्रम व्यवस्थापक सरिता ज्ञवालीले जानकारी दिइन ।
पुराना खोरको सुधार गर्दा वन्यजन्तुको सुरक्षा प्रभावकारिता र दर्शकलाई आकर्षण बढाउन खोर सुधार अभियानका साथ गरिएको वन्यजन्तु क्युरेटर गणेश कोइरालाले प्रस्ट्याए । उनले सदर चिडियाखाना प्रशासनले दर्शकका सुविधा थप्न र वन्यजन्तु संरक्षण शिक्षा व्यापकता दिन पूर्वाधार विकासमा अभियानका साथ काम गरिरहेको बताए ।
गत वर्ष मात्र सदर चिडियाखाना हेर्न आएका १० लाख ५० हजार दर्शकबाट रु सात करोड ६५ हजार १९ हजार प्रवेश शुल्क आम्दानी भएकोमध्ये कार्यालय व्यवस्थापन, वन्यजन्तु पालनपोषण र खोर सुधारका लागि रु सात करोड ३५ लाख ९५ हजार खर्च गरेको लेखा अधिकृत सुकबहादुर गुरुङले बताए । खर्च रकममध्ये सबैभन्दा बढी जीवजन्तुको खोर सुधारमा लागेको जनाइएको छ ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विसं १९८९ मा निजी रुचिमा जीवजन्तु पालेकोमा २००७ सालको राजनीतिक परिवर्तनको प्रभावले २०११ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको र २०५२ सालमा सरकारको निर्णयअनुसार ३० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको मातहतमा रहने गरी सदर चिडियाखानालाई स्वायत्तता दिइएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ अन्तर्गत सदर चिडियाखानाले स्वशासित र मुनाफारहित प्राकृतिक सम्पदाको संरक्षण एकाइका रुपमा काम गर्दै आएको छ । अहिले चिडियाखानामा ११५ प्रजातिका ७९३ स्तनधारी, पक्षी, घस्रने र पानीमा तैरने वन्यजन्तु राखिएका छन् ।
सदर चिडियाखाना हेर्न आएका दर्शकमध्ये बढीले यहाँ रहेका एक हात्ती, तीन गैँडा र चार बाघ, वनमान्छे, अजिङ्गर हेर्न बढी चासो देखाएकोे वन्यजन्तु क्युरेटर कोइरालाले जानकारी दिए । त्यहाँ राखिएका पक्षी, चिडियाखानाको बीचमा रहेको पोखरीको डुङ्गा तथा बालबालिकाले खेल्ने पिङ र नमुना रेलले पनि दर्शकलाई आकर्षित गरेको बताइएको छ । रासस