राष्ट्रपति चयनको विवाद गहिरिने संकेत

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ६:१६ मा प्रकाशित

वर्तमान राष्ट्रपतिलाई निरन्तरता दिने वा नयां राष्ट्रपति चुन्ने भन्ने विवाद थप गहिरिदैं जाने संकेतहरु देखिएका छन्।संविधानसभा निर्वाचन लगत्तै अनौपचारिक रुपमा नयां‌ राष्ट्रपतिको पक्षमा आफूलाई उभ्याउंदै आएको एमालेका एक जना सचिवले त्यसबारे पार्टीले औपचारिक निर्णय गरेको पुष्टि गरेका छन्।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका एक जना नेताले भने एमालेको औपचारिक निर्णयले कुनै फरक नपार्ने भन्दै नयां संविधान नबनुञ्लेज अहिलेकै राष्ट्रपति कायम रहनुपर्ने अडान दोहोर्याएका छन्।

नेकपा एमालेका उच्चनेताहरुले संविधानसभा निर्वाचनपछि आफूहरुको दल कांग्रेस हाराहारीकै शक्ति बनेकाले मुलुकका महत्वपूर्ण पद तथा सरकारमा, उनीहरुकै शब्दमा, सम्मानजनक स्थान चाहिने सार्वजनिक रुपमा बताउंदै आएका थिए।

अलग अलग ढंगले पोखिएका ती अडानलाई दुई दिनअघि सकिएको एमालेको केन्द्रीय समिति बैठकले संस्थागत निर्णयका रुपमा औपचारिकता दिएको जस्तो देखिएको छ, जसको पुष्टि उक्त पार्टीका एक जना सचिव विष्णु पौडेलको यो भनाइबाट पनि हुन्छ।

उनले भने,”राष्ट्रपति र उपराष्ट्रपति नयां चुनिनुपर्छ भन्ने स्थायी समितिको निर्णयलाई केन्द्रीय समितिले सही ठहर गरेको छ।”

पद बांडफांडको विवादमा नअल्झिने भनी कांग्रेससंग साझा उदघोष गरेको केही दिन नबित्दै एमालेबाट यस्तो औपचारिक निर्णय आएपछि राष्ट्रपतिको विषयलाई लिएर विवाद गहिरिने कतिपयले ठानेका छन्।

एमालेका नेताहरुबाट अनौपचारिक धारणाहरु आउंदादेखिनै राष्ट्रपति नफेर्ने अडान राखेको कांग्रेसले एमालेको औपचारिक निर्णयपछि पनि आफ्नो मनस्थिति नबदिलने प्रष्ट पारेको छ।

कांग्रेस नेता रामशरण महत भन्छन्, “राष्ट्रपतिको निर्वाचन गर्नुपर्छ भन्ने कुरा हामीलाई बिल्कुल मान्य छैन। यो मुद्दा चुनावअगाडि उठेकै थिएन।”

यस्ता खालका परस्परविरोधी धारणाहरु प्रमुख शक्तिहरुबीच कायमै रहंदा यसले सरकार गठन तथा संविधान निर्माण प्रक्रियालाई प्रभावित तुल्याउन सक्ने चिन्ताहरु पनि व्यक्त हुन थालेका छन्।BBC Nepali service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us