दुई चिनियाँ पर्यटकको नगरकोटमा मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ४:५८ मा प्रकाशित

hotel-view-pointकाठमाण्डु, २८ मंसिर–नगरकोटको होटल भ्यु प्वाइन्टमा दुई चिनियाँ पर्यटक मृत अवस्थामा भेटिएका छन् ।   चिनियाँ पर्यटकको टोलीमै आएका पर्यटकमध्ये ५५ वर्षीय चिन डन मिस्टर एर र ६२ वर्षीय साइ हङ्युन मिस्टर एर एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् । बिहीबार राति खाना खाएर एउटै कोठामा सुतेका ती पर्यटक बिहान अबेरसम्म नउठेपछि होटल सञ्चालक दिनेश श्रेष्ठ र चिनियाँ पर्यटकको टोली नेतासहितले ढोका फुटाएर हेर्दा उनीहरु मृतावस्थामा भेटिएको होटेलले जनाएको छ ।
मृत अवस्थामा पर्यटक भेटिएलगत्तै नगरकोट प्रहरी प्रभागबाट गएको प्रहरी टोलीले प्रारम्भिक र काभ्रेबाट प्रहरी टोली आएर अनुसन्धान सुरु गरेका छन् । पर्यटकको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

करेन्ट लागेर मृत्यु

यसैबीच महोत्तरीको सिमरदही गाविस–३ मा बिहीबार साँझ एक बालकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला गोदार गाविस घर भई महोत्तरीको सिमरदी–३ स्थित मामाघरमा आएका आठ वर्षीय लक्ष्मेश्वर मण्डल रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सिमरदही–३ बस्ने जगवीर मण्डलका छोरा राजु मण्डलको बिहेमा ट्याक्टरमा जेनेरेटरसहित लोड गरी बजाइरहेको बाजाबाट अचानक विद्युत् प्रवाह हुँदा ट्याक्टरको टेलरमा खेलिरहेका बालक मण्डलको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

सोही घटनामा परी स्थानीय सञ्जय मण्डलकी पाँच वर्षीया छोरी कजली कुमारी र रामहृदय सहनीका पाँच वर्षीय छोरा अरुण सहनी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us