गोरखाको दुर्गम गाउँमा मोबाइल सेवा

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ३:३६ मा प्रकाशित

Nepal-Telecom-Logoगोरखा, २८ मंसिर–गोरखा सदरमुकामबाट ५२ कोस टाढा रहेको सामागाउँ गाविसमा मोबाइल फोन सेवा सञ्चालन भएको छ । सो गाउँमा सिडिएमए मोबाइल सेवा सुरु भएकोे नेपाल टेलिकम शाखाले जनाएको छ ।

स्याटलाइट लिङ्कको माध्यमबाट त्यहाँ मोबाइल सेवा सुरु गरिएको टेलिकम शाखा प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । मोबाइल सेवा सञ्चालनका लागि त्यहाँ मिनिमाइक्रो बिटिएस टावर जडान गरिएको छ । सो टावरको माध्यमबाट एकै पटक ५०० जनासम्मले सिडिएमए मोबाइल चलाउन सक्ने उनकोे भनाइ छ ।

आगामी एक महिनाभित्र छेकम्पार गाविसमा पनि मोबाइल सेवा सञ्चालन गर्ने टेलिकमको तयारी छ । सामागाउँ र छेकम्पारसहित उत्तरी गोरखाका अन्य पाँच गाविसमा पनि यो वर्षभित्रै मोबाइल सेवा पुर्याउन नेपाल टेलिकम जुटेको छ ।

मोबाइल सेवा सुरु भएपछि सो क्षेत्रका बासिन्दाले आइपी सिडिएमए प्रविधिमा आधारित इन्टरनेट पनि चलाउन पाउने भएका छन् । इन्टरनेट प्रोटोकल प्रविधिमा आधारित यो सेवा प्रवाह गर्नका लागि गत वर्ष नै उत्तरी भेगका सात गाविसमा सर्वेक्षण गरिएको थियो । यसअघि दिँदै आएको इन्टरनेट सेवाभन्दा आइपी सिडिएमए प्रविधिबाट उच्च गतिमा इन्टरनेट चलाउन सकिने दूरसञ्चार कार्यालयले जनाएको छ ।

त्यस्तै नेपाल टेलिकम गोरखा शाखाले ताकुकोट गाविसको नमस्ते मोबाइलको टावर दुई महिनाभित्र सञ्चालन गर्ने जनाएको छ । निर्माण भएको चार वर्ष भइसक्दा पनि टावर सञ्चालन नगरिएको स्थानीयवासीको गुनासो आउन थालेपछि टेलिकमले छिट्टै टावर सञ्चालन गर्ने जनाएको हो । केन्द्रीय विद्युत् सेवा पुगे पनि त्यसको उपभोगका विषयमा स्थानीय बासिन्दासँग थप छलफल गर्नुपर्ने देखिएकाले टावर सञ्चालनमा ढिलाइ भएको शाखा प्रमुख श्रेष्ठको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us