
काठमाण्डु, २८ मंसिर– जमाते इस्लामी नेता अब्दूल कादर मुल्लालाई फाँसी दिइएको छ । स्थानीय समय अनुसार विहीबार रातीे १० बजे बंगलादेशको राजधानी ढाकास्थित केन्द्रीय कारागारभित्र कादरलाई फाँसी दिइएको हो ।
फाँसी दिइएको विरोधमा राजधानी ढाका लगायतका स्थानमा हिंसात्मक प्रदर्शन भैरहेको छ । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा कम्तिमा पाँच जनाको मृत्यु भैसकेको बीबीसीले जनाएको छ ।
मुल्लाको पार्टीले फाँसीको सजाय राजनीति प्रेरित रहेको भन्दै विरोध जनाएको छ ।
सन् १९७१ मा स्वतन्त्रता संग्रामको बेला मानवताविरोधी अपराध गरेको अभियोगमा उनलाई अदालतले गत फेब्रुअरी महिनामा फाँसीको सजाय सुनाएको थियो ।
सो सजाय पुनरावलोकनकालागि कादरले गरेको अपील सर्बोच्च अदालतले विहीबार अस्वीकार गर्दै फाँसीको सजायलाई सदर गरेको थियो ।