अपाङ्गताको नाममा सुविधा लिने सबलाङ्गलाई कारबाही गर्न आदेश

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १३:३२ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर–अपाङ्गता नभएकाहरुले विशेष सुविधा लिन अपाङ्ग भएको भनी गलत सिफारिस गराउने र सामान्य अशक्ततामा पनि गम्भीर प्रकृतिको अपाङ्गताको परिचयपत्र बनाई संरक्षित कोटाबाट लोकसेवा आयोगको परीक्षामा समावेश हुने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रशासकीय अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

ओखलढुङ्गास्थित महिला तथा बालबालिका कार्यालयका तत्कालीन निमित्त प्रमुख उद्धवप्रसादले सरकारविरुद्ध गरेको पुनरावेदनमा उक्त अदालतका अध्यक्ष काशीराज दाहाल तथा सदस्य कुमार योञ्जन तामाङको इजलासले आज यस्सतो आदेश जारी गरेको हो ।

आदेशमा कस्तो अवस्थालाई अपाङ्गता मान्ने र कस्ता प्रकृतिका अपाङ्तालाई राज्यबाट सुविधा दिन न्यायोचित हुनेजस्ता विषयमा वैज्ञानिक र वस्तुगत परीक्षणको विशेष संयन्त्र बनाई मापदण्डको आधारमा अपाङ्गताको वर्गीकरण गर्न र वर्गीकरणबमोजिम सुविधाको प्रकृति तथा मात्रा निर्धारण गर्न भनिएको छ ।

सो आदेशमा निर्धारित मापदण्ड र प्रक्रियाविरुद्ध सिफारिस गर्नेलाई दण्डित गर्न र गलत किसिमले अपाङ्गताको नाममा सुविधा लिएकाहरुको छानबिन गरी कारबाही गर्न तथा समावेशीकरणको दुरुपयोग हुन नदिन सरकारलाई सचेत पनि गराइएको छ ।

पुनरावेदक उद्धवप्रसादले निमित्त कार्यालय प्रमुख हुँदा आफू अपाङ्ग भएको भनी अपाङ्गताको परिचयपत्र आफैंले प्रमाणित गरी लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us