बन्दी फरार घटना छानविन गर्न समिति गठन

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १३:१५ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर–सरकारले केन्द्रीय कारागारबाट हिजो एक बन्दी भागेको घटना छानविन गर्न समिति गठन गरेको छ । जगन्नाथदेवलस्थित कारागारबाट बन्दी भागेको विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कारागार व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रहरी नायब महानिरीक्षक विश्वराज सिंह शाही र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक अर्जुनकुमार केसी रहेको गृहमन्त्रालयले जनाएको छ । समितिलाई घटनाको सत्यतथ्य बुझी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

लागुऔषध कारोबारको मुद्दामा सजाय भोगिरहेका सर्लाही रघुवा–५ का सुरज सिंह हिजो दिउँसो कारागारबाट भागेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us