सरकारले आयल निगमलाई १ अर्ब ६५ करोड दिने

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ११:५३ मा प्रकाशित

SHINGHA-DURBAR

सरकारले नेपाल आयल निगमलाई १ अर्ब ६५ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सरकार जमानत बसेर कर्मचारी सन्चय कोषबाट ८५ करोड र नागरीक लगानी कोषबाट ८० करोड ऋण रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रबक्ता एवम् सूचना तथा सन्चार मन्त्री माधब पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाकोलागि आवश्यक पर्ने २ अर्ब ४२ करोड रकम जुटाउन ७ सदस्यीय समिति गठन गरेको छ । एसियाली विकास बैंकबाट ऋण सहयोग जुटाउन सहरी विकास मन्त्रालयका सहसचिव विनोद चन्द्र झा नेतृत्वमा वार्ता समिति गठन गरिएको हो ।

यसैगरि बैठकले अर्को व्यबस्था नभएसम्म गोरखापत्र संस्थानको महाप्रबन्धकको जिम्बेवारी सन्चार सचिव धु्रव प्रसाद शर्मालाई दिने निर्णय पनि गरेको पौडेलले जानकारी दिनुभयो ।

शान्ति, मानवअधिकार र सुशासन कार्यक्रमको चौथो चरणको लागि डेनमार्क सरकारबाट प्राप्त हुने अनुदान वाफत ३ अर्ब ६० करोड रुपैयाँ स्वीकृत गर्ने र त्यसकोलागि अर्थमन्त्रालयलाई अख्तियारी दिने बैठकले निर्णय गरेको छ ।

यसैगरी ट्रमा सेन्टर निर्माणको लागि उद्योग मन्त्रालयको नाममा दर्ता भएको काभ्रे धुलीखेल नगरपालिका वडानम्बर ५ मा रहेको १६ रोपनी जग्गा काठमाडौं विश्वविद्यालयलाई ३० बर्षको लागि लीजमा प्रयोग गर्न दिने सरकारले निर्णय गरेको छ ।

पन्चेश्वर बहुउद्देश्यीय आयोजना २०७०/७१ का लागि राजपत्राङ्कित तृतीय श्रेणीका दुई प्राविधिक दरबन्दी सिर्जना गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्रिपरिषद बैठकले क्यासिनो पहिलो संशोधन नियमावली २०७० स्वीकृत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us