माओवादी नेताको हत्या आरोपी चार बर्षपछि पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ६:०७ मा प्रकाशित

सिरहा, २७ मंसिर–माओवादीका जिल्ला नेतालाई हत्या गरी फरार रहेका एक आरोपी युवकलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको छ । घर बाहिर लुकीछिपी बस्दै आएका कारण प्रहरीले लामो समयदेखि उनलाई पक्राउ गर्न सकेको थिएन ।

पक्राउ पर्नेमा रामनगर मिर्चैया–७ का ३० वर्षीय खुशीलाल ठाकुर रहेका छन् । विशेष सुराकीका आधारमा ठाकुरलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले सिरहाको कल्याणपुर बजारबाट बुधबार राति पक्राउ गरेको हो । प्रहरीले ठाकुरलाई सर्वाधिक खोजी गरिएका व्यक्तिको सूचीमा राखेको थियो ।

ठाकुरले माओवादीका जिल्ला नेता चन्द्रोदयपुर पानवारीका रामअयोधी यादवलाई गोली हानी हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार पक्राउ परेका ठाकुरले मझौलिया–५ शिवराम यादवमाथि पनि करिब तीन वर्ष अगाडि गोली प्रहार गरेका थिए तर गोली नलाग्दा शिवराम बाँच्न सफल भएका थिए । साथै लुटपाट र अपहरणका घटनामासमेत ठाकुरको संलग्नता रहेको प्रहरीको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us