९ महिनादेखि तलब पाएनन् प्रधानाध्यापकले

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ३:१२ मा प्रकाशित

कञ्चनपुर, २७ मंसिर–भीमदत्त नगरपालिका–१० तिलकेनीस्थित विष्णु प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबहादुर कोलीले नौं महिनादेखि तलब पाएका छैनन् । निजी स्रोतमा कार्यरत प्रधानाध्यापक कोलीले गत चैतदेखि पारिश्रमिक नपाएका हुन् ।

विद्यालयमा आर्थिक स्रोत नभएका कारण चैतदेखि तलब नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर कोलीले जानकारी दिए । ‘शिक्षा कार्यालय कञ्चनपुरबाट दरबन्दी सिर्जना नहुँदा सो विद्यालयमा हालसम्म स्थायी दरबन्दी दिएको छैन,’ अध्यक्ष कोलीले भने, ‘निजी स्रोतबाट पनि तलब खुवाउन सकिएको छैन ।’

प्रधानाध्यापक कोली मुक्त हलिया समुदायका व्यक्ति हुन् । उनले (क) वर्गको परिचयपत्र पाएका छन् ।

विगतका वर्षहरुमा स्थानीय शान्ति सामुदायिक वनबाट निजी स्रोतका शिक्षकलाई तलब दिने गरेको भए पनि सामुदायिक वन ऐनले वनको आम्दानी वन संरक्षणमा नै खर्च गर्ने नीति लिएपछि विद्यालयका निजी शिक्षकलाई तलब खुवाउन नसकिएको अध्यक्ष कोलीको भनाइ छ । कोलीका अनुसार विद्यालयमा तीन राहत, दुई निजी, दुई बालविकास र एक कार्यालय सहयोगी कार्यरत रहेका छन् । २०५२ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ८४ विद्यार्थी मात्रै अध्ययनरत छन् । उक्त विद्यालयमा ७५ विद्यार्थी दलित र मुक्त हलियाका बालबालिका अध्ययनरत छन् ।

शिक्षा कार्यालयका उपसचिव पदमराज भट्टले विद्यार्थी कम भएका कारण दरबन्दी र पिसिएल फन्ट दिन नसकेको बताए । भट्टले भने, ‘५० विद्यार्थीबराबर एक शिक्षक व्यवस्थापन हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us