पाँच वर्षीया बालिकाको हत्या

काठमाण्डु टुडे २०७० मंसिर २७ गते २:०५ मा प्रकाशित

Raptiरोल्पा, २७ मंसिर–घरछेउमै खेलिरहेकी पाँच वर्षीया बालिकाको एक महिलाले हत्या गरेकी छिन् । ह्वामा गाविस–७ का ओबिराज पुनकी पाँच वर्षीया छोरी ज्योतिमायाँ पुनलाई काकी नाता पर्ने एक महिलाले खाना पकाउने पनिउँले हान्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ । गोठनजिकै चारपाँचजना समूहमा साथीहरुसँग खेलिरहेकी बालिकालाई कालिनी पुनले हानेपछि स्वास्थ्यचौकी ह्वामा लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो ।

घटनापछि फरार भएकी ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक बालिकाका बुबा ओबिराज पुनका अनुसार यसअघि ती महिलासँग कुनै पनि रिसइबी थिएन ।

यस्तै रोल्पाको लिबाङ–८ गुरुङगाउँमा भीरबाट लडेर बुधबार एक गर्भवती महिलाको ज्यान गएको छ । घाँस काट्न गएको अवस्थामा गुरुङगाउँको निलरह भन्ने भीरबाट लडेर ३६ वर्षीया हुर्मती केसीको ज्यान गएको हो ।

केसीका श्रीमान् वैदेशिक रोजगारका लागि कतारमा भएको बताइएको छ । परिवारका अनुसार श्रीमान् घरमा नभएकाले दाहसंस्कार गर्न केही समय लाग्ने बताइएको छ ।

केसी सिर्जनशील कृषि महिला सहकारीकी सदस्यसमेत थिइन् । केसीको निधनले सहकारी परिवारले दुःखी भएको भन्दै शोक व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us