
काठमाण्डु, २६ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको व्यापक जनगुनासो आएपछि त्यसलाई सम्बोधन गर्ने क्रममा आयोगले त्यस्तो निर्देशन दिएको हो ।
आयोगले बुधवार स्वास्थ्य, सहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, काठमाण्डु उपत्यकाभित्रका महानगरपालिका, उपनगरपालिका, नगरपालिका, फोहोरमैला व्यवस्थापन प्राविधिक सहायता केन्द्र, वीर, कान्ति अस्पताल, प्रसूतिगृहका पदाधिकारीहरूसँग छलफल गरी अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले बताए ।
आयोगले फोहोरमैलाको प्रभावकारी र उचित व्यवस्थापन गर्न आवश्यक पर्ने नीतिगत सुधार गरी विभिन्न सरोकारवाला निकायबीच समन्वयात्मक रुपमा अनुगमन तथा कार्यान्वयनका लागि आवश्यक प्रयास गर्न मुख्य सचिवलाई लेखी पठाउने निर्णय गरेको जानकारी पनि उनले दिए ।
त्यसैगरी, आयोगले सहरी विकास मन्त्रालयको नेतृत्वमा सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी सम्मिलित एक उच्चस्तरीय अनुगमन कार्यदल यथाशीघ्र गठन गरी अस्पतालजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धमा ऐन, नियमको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गर्न र आयोगलाई जानकारी गराउन पनि सोही मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको जनाएको छ ।
यसैबीच, आयोगले शिक्षण अस्पतालहरूको सम्बन्धन र सिट सङ्ख्या जस्ता विषयमा परेका उजुरीबारे छानबिन तथा अनुसन्धान गर्न विराटनगरस्थित नोबेल मेडिकल कलेज र भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजको बुधवारदेखि स्थलगत निरीक्षण सुरु गरेको छ ।
आयोगको दुई बेग्लाबेग्लै टोलीले ती शिक्षण अस्पतालको निरीक्षण थालेको जानकारी पनि सहायक प्रवक्ता घिमिरेले जानकारी दिए । रासस