अमेरिकामा ओबामाप्रति समर्थन कमजोर

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १५:३९ मा प्रकाशित

obamaवासिङटन, २६ मङ्सिर–अमेरिकी राष्ट्रपति बाराक ओबामाले लागु गरेको स्वास्थ्य सेवा कानुनप्रति अस्वीकृति प्रदर्शन गर्दै उनको कामप्रति अस्वीकृतिको दर चुलिदै गएको छ । एनबीसी न्युज र वाल स्ट्रिट जर्नलले गरेको अभिमत सर्वेक्षणमा उनको काम प्रति अस्वीकृतिको दर हालसम्मकै सबैभन्दा उच्च देखिएको छ ।

बुधबार प्रकाशित अभिमत सङ्कलनको नतिजामा ओबामाले गरेको कामप्रतिको अस्वीकृतिको दर ५४ प्रतिशत देखिएको छ । यो दर उनको राष्ट्रपतिकालकै सबैभन्दा अधिक हो । गत अक्टोबरमा यो दर ५१ प्रतिशत रहेको थियो ।

सर्वेक्षणमा २८ प्रतिशतले उनले आफ्नो उद्देश्य प्राप्त गरेको जानकारी दिएका छन् भने यो जनवरी महिनाको भन्दा १६ प्रतिशतले कम हो ।

उनी इमान्दार भएको भनी ३७ प्रतिशतले बताएका छन् । यो जुन महिनामा गरिएको सर्वेक्षणको प्रतिशतभन्दा पाँच पतिशतले कम हो । यसै गरी निकै विभाजित संसदप्रतिको समर्थन पनि निकै घटेको छ ।

सर्वेक्षणमा भाग लिने ५१ प्रतिशतले ११३ औँ कङ्ग्रेस हालसम्मकै सबैभन्दा नराम्रो भएको बताएका छन् ।

सर्वेक्षण डिसेम्बर ४ देखि ८ सम्म गरिएको हो र यसमा एक हजार वयस्कले भाग लिएका थिए । यस सर्वेक्षणको गल्ती प्रतिशत ३.१ रहेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us