जनक शिक्षाका २३ मजदूर पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १४:५१ मा प्रकाशित

भक्तपुर, २६ मंसिर–जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा तोडफोड गरेको आरोपमा केन्द्रका २३ जना मजदूरलाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।
    जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रेस शाखामा कार्यरत ४० जना मजदूरलाई मंगलबारदेखि हाजिर गर्न नदिएपछि बुधवार केन्द्रमा कर्मचारी र प्रेस शाखाका व्यवस्थापन पक्षबीच भएको विवादपछि प्रहरीले तोडफोडमा उत्रिएका मजदूरलाई पक्राउ गरेको केन्द्रले जनाएको छ ।
    जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड नेपाल स्वतन्त्र प्रेस मजदूर युनियन आबद्ध मजदूरलाई मंगलबारदेखि हाजिर गर्न नदिएपछि बुधवार प्रेस शाखा प्रमुख सुदन नेपाललाई यसबारे बुझ्न जाँदा एक्कासी प्रहरी बोलाएर पक्राउ गर्न लगाएको कर्मचारीको भनाइ छ ।
    युनियनका कर्मचारीले दुई वर्षअघि केन्द्र व्यवस्थापनसँग तलब, भत्ता तथा सुविधाका बारेमा गरेको १७ बुँदे सहमति झाले अझैसम्म कार्यान्वयन नगरेपछि युनियनले श्रम अदालतमा कार्यान्वयनका लागि मुद्दा हालेको मजदूरले बताएका छन् ।
    श्रममा मुद्दा हालेको विषयलाई लिएर व्यवस्थापनले हाजिर गर्न नदिएको मजदूरको भनाइ छ । केन्द्रले भने युनियनका करार र ज्यालादारीमा रहेका कर्मचारीले स्थायी हुनुपर्ने, तलब भत्ता बढाउनु पर्ने, अतिरिक्त समयमा काम गर्न पाउनुपर्ने माग राख्दै आएकोमा व्यवस्थापनले सो समय दिन नसक्ने बताएपछि मजदूरहरूले विवाद निकालेको बताएको छ ।
    महानगरीय प्रहरी बृत्त थिमीका प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले मजदूरले तोडफोड र आक्रमणमा उत्रिएको पाइएपछि पक्राउ गरेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us