सभासद चयनको मापदण्ड बनाउने जिम्मा स्थायी कमिटीलाई

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १३:११ मा प्रकाशित

balkhuकाठमाण्डु, २६ मंसिर– एमालेले समानुपातिक सभासद चयनको मापदण्ड तय गरी व्यक्ति छनोट गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ ।

बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले समानुपातिक सभासद चयनको मापदण्ड र व्यक्ति छनोटको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो । बैठकमा अध्यक्ष झलनाथ खनालले पेस गरेको सभासद चयनको मापदण्डसम्बन्धी प्रस्तावलाई सदस्यहरुबाट आएको सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी पनि स्थायी कमिटीले पाएको छ ।
आकांक्षीको संख्या धेरै भएपछि एमालेलाई समानुपातिकमा छनोट गर्न समस्या परेको छ । त्यसमा पनि शीर्ष नेताहरुका व्यक्ति पिच्छेको फरक–फरक सूची छन् । अध्यक्ष खनालको प्रस्तावमा पार्टीले पाउने ८४ सिटमा केन्द्र र स्थानीय तहबाट ५०/५० प्रतिशत सभासद मनोनयन गर्ने उल्लेख छ ।
यस्तै एमालेले यसअघि पटकपटक अवसर पाएकालाई यसपटक नदोहोर्‍याउने तथा समानुपातिकमा महिला, दलित, आदिवासी जनजाति र पिछडिएको क्षेत्रलाई प्राथमिकता दिने भएको छ ।
बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिंदै अध्यक्ष खनालले काँग्रेस र एकीकृत माओवादीसहितका दलसँग सहकार्य गरी एक वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्नु पार्टीको बटमलाइन हुने बताएका छन् । उनले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्नका लागिसमेत पार्टीले पहल गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us