खिलराज र निलकण्ठलाई ल्याएर गल्ती भयो : सापकोटा

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ९:४९ मा प्रकाशित

agni sapkotaकाठमाडौ, २६ मंसिर । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले मन्त्री परिषदको अध्यक्षमा प्रधानन्यायाधिस खिलराज रेग्मीलाई र निर्वाचन आयोगको प्रमुख आयुक्तमा निलकण्ठ उप्रेतिलाई ल्याउनु गंभिर गल्ती भएको बताएका छन् । बुधबार काठमाण्डुमा भएको साक्षात्कारमा उहाँले पार्टी निकटका मान्छेलाई मन्त्रिपरिषदको अध्यक्ष र निर्वाचन आयोगको आयुक्त बनाएर गल्ती गरेको धारणा राखे ।

‘उनीहरुले निर्वाचनमा यसरी सुक्ष्म रुपमा धाँधली गरे कि हामीले त्यो कल्पना समेत गर्न सकेका थिएनौं,’ सापकोटाले भने, ‘यो प्रायोजित, नियोजित र षडयन्त्रमुलक रुपमा लामो समयदेखि डिजाईन गरेर गरिएको चुनाव हो ।’

प्रवक्ता सापकोटाले आफ्नो लागि मंसिर ४ गते भएको संविधानसभा निर्वाचन चुनाव सिकाईको विश्वविद्यालय बनेको उल्लेख गरे । उनले निर्वाचनमा भएको धाँधली छानविन, विघठित संविधानसभाको स्वामित्व ग्रहण गर्ने र जनताको संविधान बन्ने ग्यारेन्टी नभएसम्म संविधानसभामा नजाने स्पष्ट पारे । निर्वाचनमा धाँधली भएको प्रश्न उठिसकेपछि पनि जवाफ नदिदा यसले आशंकालाई अझै बलियो बनाएको उनको धारणा थियो । सापकोटाले भने, ‘अहिले २०४७ सालकै संविधान ब्यूताउने योजना बनिरहेको छ । देशको प्रगतिलाई रोक्ने षडयन्त्र भईरहेको छ । त्यसैले हाम्रो प्रश्नको पहिलो उत्तर आउनु पर्छ ।’

अहिलेको निर्वाचनले ताजा जनादेश दिएको हो भने राष्ट्रपति र उपराष्ट्रपतिको पनि नयाँ निर्वाचन हुनै पर्ने भन्दै निर्वाचन हुन नसक्ने अवस्था भए संविधान संसोधन गरेर भए पनि निर्वाचन गराउनुपर्ने सापकोटाले तर्क गरे । नयाँ जनादेश आईसकेपछि निर्वाचन गर्नुपर्छ कि पर्दैन भन्ने विवाद आउनु नै विडम्बनापूर्ण भएको दावी गर्दै सापकोटाले निर्वाचन गर्नु हुँदैन भन्ने मान्यता आउनै नहुने तर्क गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले एक मधेस प्रदेश नभए देश टुक्राउने चेतावनी दिनेहरुलाई मधेसी जनताले नै लोप्पा खुवाउँदै जातीय र क्षेत्रीय राजनीतिलाई अस्विकार गरेको बेला मधेसी मुलका राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाएर मधेसी जनतालाई खिन्न बनाउन नहुने तर्क गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल थापाले आफूहरु जनतासँग एक वर्षमा संविधान दिने प्रतिबद्धता सहित चुनाव लडेकोले अहिले राष्ट्रपति परिवर्तनमा लाग्नु भन्दा संविधान बनाएर जनतासँग गरेको बाचा पुरा गर्ने समय भएको बताए ।

साक्षात्कारमा संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले १ वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरिएकोले संबैधानिक ब्यवस्था नै नभएको राष्ट्रपति परिवर्तनमा लाग्न नहुने तर्क गरे ।

नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले लोकतान्त्रिक मुलुकमा नयाँ जनादेश आईसकेपछि पुरानो पदहरु रहन नसक्ने भन्दै संविधानसभामा लगेर राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गराउनै पर्नेमा जोड दिए । यद्यपि उनले त्यस अवस्थामा आफ्नो पार्टीले बर्तमान राष्ट्रपति र उपराष्ट्रपतिकै पक्षमा मतदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us