
तौलिहवा, २६ मंसिर–कपिलबस्तुको चन्द्रौटामा ट्रिपरको ठक्करबाट बुधबार विहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बीरपुर–९ का पाँच बर्षीय कपील भण्डारी रहेका छन् ।
लु १ ख ५३९९ नम्बरको ट्रिपरले स्कूल जाँदै गरेका भण्डारीलाई ठक्कर दिएको थियो ।
टायर गाडाबाट लडेर मृत्यु
यसैबीच महोत्तरी जिल्लाको फुल्काहा गाविसमा टायर गाडाबाट लडेर गएराति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुल्काहा गाविस–६ मन्हर्वा बस्ने ५० वर्षीय सुखलाल साह रहेका इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
गएराति करिब ७ बजेतिर नजिकैको खेतबाट टायरगाडामा धानको बोझा लोड गरी घरतिर गइरहेका साह अचानक टायरगाडाबाट भुइँमा लडेपछि चेपिएर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लगिएकोमा अस्पताल पुग्नेबित्तिकै मृत्युु भएको प्रहरी निरीक्षक दीपक गिरीले जानकारी दिए ।