वृद्धवृद्धाले बनाए सडक

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ५:०८ मा प्रकाशित

म्याग्दी, २६ मंसिर-म्याग्दीको ताकम गाविस–७ हिलापोखरीका वृद्धवृद्धा दम्पतीले व्यक्तिगत लगानीमा दुई किलोमिटर सडक निर्माण गरेका हुन् । हिलापोखरी घर भई हाल पोखरा नदीपुर बस्ने रेशम पुन र उनकी श्रीमती बनिकाको तीन लाख रुपैयाँ लगानीमा ताकम–३ किमचौरदेखि हिलापोखरी गाउँ पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

सिङ्गापुर प्रहरीका पेन्सनर पुनले सडक निर्माणमा भएको सबै खर्च ब्यहोरेको ताकम हिलापोखरी सडक निर्माण समितिका अध्यक्ष लोकनाथ पौडेलले बताए ।

सडक निर्माणका लागि सहयोग गरेका पुन दम्पतीको सम्मानमा ताकमदेखि हिलापोखरी जाने सडकमा प्रवेशद्वार पनि निर्माण गरिने भएको छ । दुई लाख रुपैयाँ लागत अनुमान गरिएको प्रवेशद्वार पनि पुनकै व्यक्तिगत लगानीमा निर्माण गरिने अध्यक्ष पौडेलले बताए ।

६७ घरपरिवारको बसोबास रहेको हिलापोखरी गाउँमा अधिकांश दलित र विपन्न समुदायका रहेका छन् । गाविसका अन्य बस्तीका बासिन्दाले आफ्नै लगानीमा सडक खने पनि आर्थिक रुपमा पछाडि परेका समुदायको बसोबास भएका कारण हिलापोखरीवासी भने त्यसो गर्न नसकेको अवस्थामा पुनले सहयोग गरेपछि उनीहरु हर्षित भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us