
पोखरा, २६ मंसिर–पोखराको पार्दीमा रहेको जिल्ला कारागार कास्कीमा अहिले खानेपानीको अभावले कारागारका बन्दी र सुरक्षाकर्मीलाई निकै अप्ठ्यारो परेको छ । खानेपानी संस्थानबाट जोडिएको धारामा कहिलेकाहीँ मात्र पानी आउने हुनाले बजेट नहुँदा नहुँदै पनि दैनिक दुई ट्याङ्कर पानी किनेर खानुपर्ने बाध्यता आइपरेको निमित्त जेलर विष्णुप्रसाद सुवेदीले बताए ।
जम्मा ६० जनाको क्षमता भएको उक्त कारागारमा अहिले ४६० जना बन्दी बसेका छन् । तीमध्ये ४४ जना महिला बन्दी रहेका छन् । जसमा थुनुवा २२, कैदी २१ र एकजना आश्रित बालिका छन् । त्यस्तै पुरुषतर्फ थुनुवा २३६ र कैदी १८० जना छन् । बन्दीमा १० जना विभिन्न नसर्ने रोग मधुमेह, उच्चरक्तचाप, श्वासप्रश्वास र छालाका रोगी रहेकाले उपचारमा समस्या परेको बताइएको छ ।
‘प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको सक्रियतामा बजेटको व्यवस्था गरी गएको वर्ष टिन राखेर थप एउटा कोठा बनाएपछि अहिले खाली चौरमा भने सुत्नु पर्दैन,’ जेलर सुवेदीले भने, तर, बन्दीहरु उकुसमुकुस गरेर बस्न बाध्य छन् ।’
कारागारलाई हेम्जा अपरच्युनिटी भिलेज, युथ पावर नेपाल काठमाण्डु र सिएसजी कम्युनिटी सपोर्ट ग्रुपले पनि केही सहयोग गरेका छन् ।