छानविन समिति गठनको माओवादी माग काँग्रेस–एमालेबाट अस्वीकार

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १४:०१ मा प्रकाशित

UChhastariya samitiko meeting

काठमाण्डु, २६ मंसिर– नेपाली काँग्रेस र एमालेले संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्नुपर्ने एकीकृत माओवादी प्रस्ताव अस्वीकार गरेका छन् ।
संविधानसभा निर्वाचनपछि दलहरूबीच उत्पन्न मतभेद समाधानको प्रयासमा बुधबार बबरमहलस्थित शान्ति कोषको सचिवालयमा बसेको मुख्य दल सम्वद्ध उच्चस्तरीय राजनीतिक समिति बैठकमा काँग्रेस एमालेले समग्र निर्वाचन प्रक्रियामै प्रश्न चिन्ह उठ्ने गरी छानविन आयोग गठन गर्न नसकिने बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले छानविन आयोग गठन गरे समग्र चुनावी प्रक्रियामाथि नै प्रश्न उठ्ने भएकाले एमाओवादी सर्त पूरा गर्न नसकिने बताए । ‘चुनावमा धाँधली भयो भन्ने कुरा अब सामान्य भइसक्यो, त्यसको जवाफ निर्वाचन आयोगले दिइसकेको छ,’ पौडेलले भने, ‘छानविन आयोग गठन गरिए समग्र चुनावी प्रक्रियामा प्रश्न उठ्छ, बरु शंका छ भने अदालत जान हामीले सुझाव दिएका छौं ।’

बैठकमा एकीकृत माओवादीले छानविन समिति गठन गरी निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि उठेका प्रश्नको जवाफ दिइनुपर्ने प्रस्ताव राखेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच छलफल सुरु हुनु सकारात्मक रहेको भन्दै आगामी बैठकले आफूहरुले उठाएका मुद्धा सम्बोधन हुने विश्वास व्यक्त गरे । उनले अर्को बैठक शनिबार बस्ने जानकारी दिए ।

प्रचण्डले आफ्नो पार्टी शान्ति र संविधानको प्रक्रियाबाट बाहिर जान नसक्ने पनि प्रष्ट्याए । ‘हामी शान्ति प्रक्रिया र संविधानसभाका विरोधी होइनौं,’ प्रचण्डले भने, ‘हाम्रा केही सर्तहरु छन्, ति कुरा २९ गतेको बैठकमा थप छलफल गर्छौं ।’

मंगलबार बसेको मुख्य तीन दलको बैठकमा सबै विवाद उच्चस्तरीय समितिमार्फत् टुंगो लगाउने सहमति भएअनुसार दोस्रो संविधानसभा निर्वाचनपछि पहिलोपटक बुधबार पहिलो उच्चस्तरीय  समितिको बैठक बसेको थियो ।

समितिमा नेपाली काँग्रेस, एमाले, एकीकृत माओवादी, संयुक्त लोकतान्त्रि मधेसी मोर्चा, मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us