हात्तिको आक्रमणबाट बाबु-छोराको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ५:२२ मा प्रकाशित

Rautahatगौर, २६ मंसिर–जङ्गली हात्तीको आक्रमणबाट रौतहटको लक्ष्मीनियामा बुधबार बिहान एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । लक्ष्मीनिया गाउँ विकास समिति–९ बुटुवा टोलमा जङ्गली हात्तीको बथान बस्तीमा पसेर आक्रमण गर्दा घरमै सुतिरहेका ६५ वर्षीय गोविन्द गिरी र उनका ३२ वर्षीय छोरा सुमनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीको समूहले दुवै बाबुछोरालार्ई ओछ्यानबाट घिसार्दै खेतमा लगेर कुल्चिएर मारेको स्थानीयको भनाइ छ । सोही घरमा सुतेका उमेश रखालले भने हात्तीको आक्रमणपछि घाइते अवस्थामा नै भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । घाइते रखालको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

हात्तीले गिरीको घर भत्काएर पूर्ण रुपमा ध्वस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।

केही दिनयता रौतहटको उत्तरी क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्न थालेपछि स्थानीय जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us