श्रद्धाञ्जलीसभामा शत्रुसँग हात मिलाए ओबामाले

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १७:४९ मा प्रकाशित

obama castroसोवेतो, २५ मंसिर अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको स्मृतिसभामा वासिङटनको लामो समयसम्मको शीतयुद्धकालीन शत्रु क्युबाका नेता राउल क्यास्ट्रोसँग हात मिलाएका छन ।
समारोहलाई सम्बोधन गर्न मञ्चमा प्रस्थान गर्नुपूर्व अमेरिकी राष्ट्रपति ओबामाले क्यास्ट्रोसँग हात मिलाएका हुन । यसलाई अमेरिकी शत्रुसम्म पुग्ने उनको चाहनाको रूपमा हेरिएको अमेरिकी एक अधिकारीले एएफपीलाई बताए ।
अमेरिकाले कम्युनिस्ट मुलुक क्युबामाथि पाँच दशकसम्मको प्रतिबन्ध कायम गरेको छ र हवानाले यसका कारण आफूलाई एक हजार १०० अर्ब अमेरिकी डलर बराबर घाटा पुगेको दाबी गरेको छ ।
स्मृतिसभालाई विश्वभर प्रत्यक्ष रूपमा प्रशारण गरिएको थियो र यसलाई दशौँ लाख दर्शकले हेरेका थिए ।
सेप्टेम्बर महिनामा राष्ट्रपति ओबामाले इरानी राष्ट्रपति हसन रुहानीसँग टेलिफोनमा वार्ता गरेका थिए । इरानमा सन् १९७९ मा इस्लामी क्रान्ति भएपछि अमेरिकी राष्ट्रपतिले इरानी राष्ट्रपतिसँग कुरा गरेको त्यो पहिलोपटक थियो ।
गत पाँच दशकमा क्युवा अधिक समय वर्तमान नेता राउलका दाजु फिडेल क्यास्ट्रोको नेतृत्वमा रहेको थियो र शीतयुद्धका शत्रु क्युबा तथा अमेरिकाबीच सीमित सम्बन्ध रहेको थियो ।
वासिङटनले क्युबालाई आधा शताब्दीसम्म व्यापार प्रतिबन्ध लगाएको छ र क्युबाको विषय अमेरिकी घरेलु राजनीतिमा जटिल विषयको रूपमा हेरिन्छ ।
अमेरिकामा क्यास्ट्रोविरोधी क्युबाली–अमेरिकी मतदाता चन्दादाताको सङ्ख्या निकै ठूलो छ र फ्लोरिडामा यसै कारण अमेरिकी राष्ट्रपति पदको निर्वाचन जित्न तथा हार्न सकिन्छ ।
राष्ट्रपति ओबामाले आफूले अमेरिकाका शत्रुसँग विना सर्त वार्ता गर्ने बताएपछि उनका विरोधी दलले यसलाई डरलाग्दो भनाइको रूपमा लिएका थिए ।
राष्ट्रपति ओबामाको ओसामा बिन लादेनलाई पत्ता लगाइ मार्ने तथा शृङ्खलावद्ध रूपमा चालकविहीन विमानबाट आक्रमण गर्ने कार्यले उनी विदेश नीतिमा कमजोर छन भन्ने कुराबाट उनलाई सुरक्षित राखेको छ ।
उनले आफ्नो सम्बोधनमा स्वतन्त्रताका लागि नेल्सन मन्डेलासँग एकतावद्ध भएको दाबी गर्ने धेरै नेताहरूले आफ्नै जनताबीच विरोध सहन नसकेको बताए ।
मङ्गलबारको सङ्केतले दुई मुलुकबीचको बिग्रिएको सम्बन्धलाई सुधार्ने छ कि छैन भन्ने स्पष्ट छैन । सन् २००० मा तत्कालिन राष्ट्रपति बिल क्लिन्टनले पनि न्यु योर्कमा संयुक्त राष्ट्र सङ्घको महासभामा फिडेल क्यास्ट्रोसँग हात मिलाएका थिए । हवाना तथा वासिङ्टनबीच सन् १९६१ पछि कूटनीतिक सम्बन्ध रहेका छैन ।

विश्वभरका नेता दक्षिण अफ्रिकामा
विश्वमै स्वतन्त्रताको छविको रूपमा चिनिएका नेल्सन मन्डेलाको स्मृतिसभामा मङ्गलबार वर्षामा रुझ्दै दशौँ हजार दक्षिण अफ्रिकी जनता गाउँदै, नाच्दै उनीप्रति गौरव व्यक्त गर्दै भेला भएका छन् । यस सभामा विश्वभरबाट राष्ट्रप्रमुख, राजा, राजकुमार तथा राष्ट्रपतिहरूको उपस्थिति देखिएको छ र विश्वभरबाट दशौँ लाख दर्शकले यस सभालाई अवलोकन गरेका छन् ।
सोवेतोको व्यापक रङ्गशालामा विश्वभरबाट करिब १०० नेता अभूतपूर्व विश्वव्यापी सम्मान प्राप्त गरेको जीवनकथा भएका यी व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त भेला भएका छन् र उनको सम्मान तथा उनले गरेका क्रान्तिका विषयमा गीतहरू प्रस्तुत भएका छन् ।
स्थानीय समय अनुसार मध्य दिनमा दक्षिण अफ्रिकाको राष्ट्रिय गीत ‘एनकोसी सिकेलेल’ का साथ आरम्भ भएको यस सभामा करिब ८० हजार मानिसको उपस्थितिको अपेक्षा गरिएको थियो । दक्षिण अफ्रिकामा आज बिहानैदेखि पानी परिरहेको छ ।
गत बिहीबार मन्डेलाको देहावसान भएपछि मुलुक गहन दुःखमा परे पनि २० औँ शताब्दीको यी उच्च राजनीतिक व्यक्तित्वको स्मृतिसभालाई यहाँका जनताले उत्सवको रूपमा मनाएका छन् ।
अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) का उपाध्यक्ष सिरिल रामाफोसाले स्मृतिको आरम्भमा भने ‘‘उहाँको लामो यात्रा अत्य भएको छ र उहाँ अन्त्यमा आराम लिनसक्नुहुन्छ’’ ।
स्मृतिसभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले मन्डेला इतिहासका ठूला व्यक्तित्व भएको र उनले आउँदा पुस्तासमक्ष सङ्घर्ष, कुशाग्रता तथा राजनीतिक सक्रियताको शक्तिबाट स्थान प्राप्त गरेको बताए ।
राष्ट्रपति ओबामाले मन्डेला सङ्गमरमरको नभई मासु र रगतले बनेको मानिस भएको र उनी आफ्नो विद्यार्थीको रूपमा राजनीतिमा प्रवेश गर्न अभिप्रेरित गर्ने उदाहरणमध्ये एक भएको बताए ।
यस सभामा अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर, जर्ज डब्लु बुस तथा बिल क्लिन्टन पनि उपस्थित थिए । कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले मन्डेलाले आफ्नो जीवनमा मात्र नभई मृत्युपछि पनि मानिसलाई एकतामा बाँधेको बताए ।
कार्यक्रममा क्युबाका राष्ट्रपति राउल क्यास्ट्रोले पनि सम्बोधन कार्यक्रम तय भएको थियो । यस रङ्गशालामा मन्डेला सन् २०१० को विश्व कप फुटबलको अन्तिम खेलमा उपस्थित थिए ।
मन्डेलाका विधुवा ग्रासा मासेल सभामा आइपुग्दा उपस्थित व्यक्तिहरूले ठूलो सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रपति ज्याकोब जुमाको उपस्थिति छ । सभामा मन्डेलाका पूर्वपत्नी विन्नी मादिकिजेला मन्डेलाको पनि उपस्थिति थियो ।
मन्डोलाको जोहानेसवर्गमा  उनकै घरमा देहावसान हुँदा विश्वभरबाट उनी प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
समारोहमा भारतीय तथा ब्राजिलका राष्ट्रपतिले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । मन्डेलाको अन्त्येष्टि आइतबार उनको गाउँ कुनुमा गरिनेछ ।
मन्डेला केही महिनादेखि गम्भीर रूपमा विरामी हुनुभए पनि उनको देहावसानले दक्षिण अफ्रिकालाई नराम्रोसँग झस्काएको थियो ।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुन, फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँ तथा अफगान राष्ट्रपति हमिद करजई पनि यस समारोहमा उपस्थित थिए ।
कार्यक्रममा नाइजेरियाका गुडलक जोनाथन तथा अन्य दर्जनौँ राष्ट्र तथा सरकार प्रमुखहरूले प्रतिनिधित्व गरेका छन । कार्यक्रममा गायक बोनो तथा दक्षिण अफ्रिकी कलाकार कार्लिज थेरोनको पनि उपस्थिति छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us