पारमाणविक युद्धले मानवसभ्यता अन्त्य गर्नसक्ने चेतावनी

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १७:१९ मा प्रकाशित

वासिङटन, मंसिर- भारत र पाकिस्तानबीच पारमाणविक युद्ध भएमा विश्वव्यापी भोकमरी उत्पन्न गराउनसक्ने देखिएको छ । त्यसबाट दुई अर्ब मानिसको मृत्यु गराउनसक्ने र मानवसभ्यता अन्त्य गराउनसक्ने एक अध्ययनमा उल्लेख गरिएको छ ।
नोबेल शान्ति पुरस्कार विजेता पारमाणविक युद्ध हुन नदिन तथा सामाजिक जिम्मेवारीका लागि चिकित्साशास्त्रीहरूको अन्तर्राष्ट्रिय समूह ‘इन्टरनेसनल फिजिसियन्स फर द प्रिभेन्सन अफ न्युक्लियर वार र फिजिसियन्स फर सोसिएल रेस्पोन्सिबिलिटीले प्रकाशन गरेको यस प्रतिवेदनमा सीमित रूपमा भए पनि पारमाणविक हतियारको सङ्घर्ष भएमा त्यसले वातावरणलाई निकै नराम्रो प्रभाव पार्ने र बाली नष्ट गर्ने उल्लेख गरिएको छ ।
सन् २०१२ मा गरिएको यस अध्ययनमा पारमाणविक युद्धका कारण उत्पन्न भोकमरीका कारण एक अर्बभन्दा बढी व्यक्तिको मृत्यु हुने उल्लेख गरिएको छ ।
यस प्रतिवेदनको दोस्रो संस्करणमा यस समूहले चीनमा पर्ने प्रभावका विषयमा कम आँकलन गरिएको र विश्वमा सबैभन्दा अधिक जनसङ्ख्या भएको मुलुकमा खाद्यान्न निकै कमी हुने उल्लेख गरिएको छ ।
यस प्रतिवेदनका लेखक आइरा हेलफान्डले पारमाणविक हतियारसम्पन्न भारत तथा पाकिस्तानबीच लामो समयदेखि तनाव कायम भएकाले अध्ययनमा उनीहरूमा ध्यान दिइएको बताए । यी मुलुक सन् १९४७ मा स्वतन्त्र भएपछि उनीहरूबीच तीनपटक युद्ध भएको छ ।
अमेरिकाले सन् १९४५ मा हिरोसिमा तथा नागासाकीमा आणविक बम प्रयोग गर्दा दुई लाख जनताको मृत्यु भएको थियो भने पारमाणविक हतियार ती बमभन्दा निकै शक्तिशाली भएको मानिन्छ ।
प्रतिवेदनमा अमेरिका र रसियाबीच ठूलो युद्ध भएमा मानव जाति नै नष्ट हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिवेदनमा दक्षिण एसियामा पारमाणविक युद्धको कारण पर्यावरणमा जाने कार्बोन एरोसोलको अंशबाट अमेरिकामा मकै तथा भटमासको उत्पादन १० प्रतिशतसम्म घट्नसक्ने अनुमान गरिएको छ । यसका कारण चीनमा धान उत्पादन २१ प्रतिशतसम्म घट्नसक्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।
प्रतिवेदनमा चिनियाँ गहुँ उत्पादनमा पनि निकै प्रभाव पर्ने उल्लेख गरिएको छ ।
यसैगरी प्रतिवेदनमा पारमाणविक युद्धको वास्तविक प्रभाव अनुमान गर्न असम्भव भएको र यी कुराको एक मात्र सही उत्तर पारमाविक हतियार नष्ट गर्नु रहेको उल्लेख गरिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा यस विषयमा काम गर्ने बताएका थिए । उनले अन्य मुलुकले यस्तो हतियार राखेसम्म अमेरिकाले पनि राख्ने बताएका छन । विश्वका नौ मुलुकमा पारमाणविक हतियार रहेको अनुमान गरिन्छ र त्यसको ठूलो भाग अमेरिका तथा रसियासँग रहेको बताइन्छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us