सहमतिमा अघि बढ्ने काँग्रेसको प्रतिबद्धता

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १७:०१ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर-नेपाली काँग्रेस संसदीय समितिको मंगलवार बसेको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच पछिल्लो समयमा भएका द्विपक्षीय त्रिपक्षीय वार्ता र पार्टीले आगामी दिनमा लिने रणनीतिका बारेमा छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवासहित संसदीय समितिका सदस्यहरु सहभागी सो बैठकले संविधानसभा, सरकार गठन तथा एमाओवादीले उठाएको शर्तहरुसहितका विषयमा छलफल गरेको हो । Nepali-Congress-Flag1315101735
संविधानसभा निर्वाचन परिणामले सबैभन्दा ठूलो दल बनेपछि नेपाली काँग्रेसले दोस्रो ठूलो दल बनेको नेकपा एमाले र तेस्रो दल बनेको एमाओवादीसँग बेग्लाबेग्लै छलफल गरेको छ । त्यस्तै प्रमुख यी तीन दलबीच मंगलबार छलफल भएको छ । उच्चस्तरीय राजनीतिक समितिको बैठक बुधबार बस्दैछ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेवारहरुको अन्तिम नामावली बुझाउने म्याद थपेपछि    काँग्रेस संसदीय समितिको मंगलबारको बैठकमा सो विषयमा भने छलपल हुन सकेन ।
काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनको  परिणामले काँगे्रस पहिलो पार्टी बनेकाले उसको काँधमा सबैलाई सहमतिमा मिलाएर लाने जिम्मेवारी आएकोले पछिल्लो समयमा दलहरुबीच भएका वार्ताको समीक्षा भएको बताए ।
उनले निर्वाचन आयोगले राजनीतिक दलहरुबीच सहमतिको वातावरण बनोस् भनेर म्याद थप गरेर राम्रो काम गरेको बताउँदै समानुपातिकतर्फको नामावली बुझाउने म्याद थप भएकाले सो विषयमा मंगलबारको बैठकमा छलफल नभएको बताए ।
“बाह्र बुँदेदेखि विगतमा पटकपटक भएको सहमतिको आधारमा उभिएर ठूला साना दल सबैलाई मिलाएर सहमतिको संविधान बनाउने हो, यसमा काँग्रेसले पहिलो पार्टीको नाताले जिम्मेवारी लिएर सबैसँग छलफल गरेर दायित्व निर्वाहका लागि अघि बढ्छ,” महामन्त्री सिटौलाले भने ।
उनले बाह्रबुँदे र शान्ति सम्झौताको यात्रासहित आन्दोलनबाट प्राप्त उपलब्धिको आधारमा अहिले संविधान निर्माणको कार्यभारलाई दलहरुबीचकै वार्ता, छलफल र सहमतिबाट टुङ्ग््याउने बेला आएकोले जिम्मेवारीबोधका साथ काँग्रेस अघि बढेको बताए ।
उच्चस्तरीय राजनीतिक समितिका विगतका बैठकहरुमा समेत राष्ट्रपति परिवर्तन गर्ने नगर्ने सम्बन्धमा कुनै सहमति नभएको बताउँदै महामन्त्री सिटौलाले काँग्रेस दलहरुबीच भएको सहमतिको भावनाअनुरुप अघि बढ्न चाहने बताए ।

काँग्रेसभित्र घातअन्तर्घातका उजुरीमाथि छानबिन सुरु

काँग्रेसले संविधानसभा निर्वाचनमा पार्टीभित्र नेता कार्यकर्ताबाट भएका घातअन्तर्घात लगायतका विषयमा आएका उजुरीको छानबिन सुरु गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको अनुशासन समितिको बैठकले प्राप्त उजुरीमाथि अनुशासन समितिले प्रारम्भिक छलफल सुरु गरेको हो ।
समितिले समानुपातिकतर्फका उम्मेदवारका बारेमा परेका उजुरीका सम्बन्धमा भने अनुशासन समितिले संसदीय समितिलाई जानकारी दिएको छ । संसदीय समितिको बैठक पनि केही दिनयता पार्टी केन्द्रीय कार्यालयमा जारी छ ।
अनुशासन समितिका संयोजक आमोदप्रसाद उपाध्यायले मङ्सिर ४ मा सम्पन्न निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई अहित गर्ने वा पार्टी हितविपरीत काम गर्नेका विरुद्ध परेका उजुरीमाथि अध्ययन केन्द्रित गरिएको पत्रकारहरुलाई बताए ।
“परेका उजुरीहरु केलाएर सिलसिलाबद्ध ढङ्गले त्यसमाथि प्रारम्भिक चरणको छलफल सुरु गरेका छौँ, त्यसमा गुण दोष केलाएर निर्णयमा पुग्छौं” संयोजक उपाध्यायले भने ।
समितिले तीन दिनअघि चुनावका क्रममा पार्टी हितविपरीत कुनै नेता कार्यकर्ताले क्रियाकलाप गरेको भए त्यसमा प्रमाणसहित उजुरीको आह्वान गरेको थियो । समितिले त्यस्ता उजुरी आगामी १५ दिनभित्र आएमा त्यसलाई स्वीकार गरी त्यसमाथि छानबिन गर्नेछ । त्यसपछिका उजुरीमा भने कुनै छानबिन हुने छैन ।
समानुपातिकतर्फभन्दा प्रत्यक्षतर्फका उम्मेदवारविरुद्ध परेका उजुरीको सङ्ख्या अधिक छ । तिनमा २८ जना समानुपातिकतर्फका उम्मेदवारबारे परेको उजुरीबारे संसदीय समितिलाई जानकारी गराइएको छ ।
संयोजक उपाध्यायले समानुपातिकभन्दा प्रत्यक्षतर्फको निर्वाचनका क्रममा पार्टीलाई हानि पुग्ने गरी नेता कार्यकर्ताबाट अनुशासन विपरीतका कामहरु भएका भन्दै धेरै उजुरी परेको बताए । समितिका सदस्यहरुमा रमेश रिजाल, सुरेन्द्र पाण्डे, मीना पाण्डे र दिलबहादुर घर्ती छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us