नागढुङ्गा-नौबिसे सडक मर्मत ७ दिनभित्र सुरु गर्न निर्देशन

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १३:५६ मा प्रकाशित

naubise thankotकाठमाण्डु, २५ मंसिर– सरकारले नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत घुमाउने पिपल मोडदेखि नौबिसेसम्मको डेढ किलोमिटर सडक मर्मतसम्भारको काम एक साताभित्र सुरु गर्न मध्यमाञ्चल डिभिजन सडक कार्यालयलाई निर्देशन दिएको छ ।

लामो समयदेखि उक्त सडकखण्डमा परेका ठूल्ठूला खाल्टाखुल्टीका कारण मोटरबाट यात्रा गर्नेले ज्यादै हैरानी झेल्नु परेको र दुर्घटनाको जोखिम पनि अत्यधिक बढेको जनगुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेपछि वरिष्ठ सरकारी अधिकारीहरू सम्मिलित टोलीले आज उक्त सडकको निरीक्षण गरेको थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, सडक विभागका महानिर्देशक, मध्यमाञ्चल सडक कार्यालयका क्षेत्रीय निर्देशक, उपत्यका ट्राफिक प्रहरी कार्यालयका नायव प्रहरी महानिरीक्षक, धादिङका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालयका प्रमुखसहितको टोलीले नागढुङ्गा–नौबिसे सडक खण्डको निरीक्षणपछि झाप्रे खोला, खत्री पौवालगायतका स्थानमा एक हजार ७० मिटर बाटो तत्काल  ढलान गर्न निर्देशन दिएको छ ।

निरीक्षण टोलीले मर्मतको काम गर्दा नियमितरुपमा मोटर सञ्चालनको व्यवस्था गर्न र एम्बुलेन्सलगायत सवारी साधनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार ‘पोर्टेवल प्लाण्ट’को सट्टा बढी क्षमता भएको ‘विटुमिन प्लाण्ट’ प्रयोग गर्न, निर्माण व्यवसायीलाई पर्याप्त उपकरणसहित कामदार परिचालन गर्र्न निर्देशन दिइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us