हेलिकप्टरबाट उपकरण लगेपछि सामागाउँमा मोबाइल

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ८:१४ मा प्रकाशित

mobile phoneगोरखा, २५ मंसिर– गोरखा सदरमुकामबाट ५२ कोष टाढा सुदूरउत्तरमा रहेको सामागाउँ गाविसमा मोबाइल फोन सेवा सञ्चालन हुने भएको छ ।

मंसिर २० गतेदेखि सिडिएमए मोबाइल सेवा सुरु गर्न लागिएको नेपाल टेलिकम गोरखा शाखाले जनाएको छ । हेलिकप्टरबाट लगिएको उपकरण जडान सकेर टेलिकमले मोबाइल सेवा सुरु गरेको हो । स्याटेलाइट लिङ्कको माध्यमबाट त्यहाँ मोबाइल सेवा सुरु गरिएको टेलिकमका शाखा प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

मोबाइल सेवा सञ्चालनका लागि मिनिमाइक्रो विटिएस टावर जडान गरिएको छ । टावरको माध्यमबाट एकै पटक ५०० जनासम्मले सिडिएमए मोबाइल चलाउन सक्ने श्रेष्ठको भनाइ छ । माघ महिनाभित्र छेकम्पार गाविसमा पनि मोबाइल सेवा सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए ।

उत्तरी क्षेत्रका सात गाविसमा सञ्चार सेवा नहुँदा यहाँ समस्या पर्दै आएको थियो । मोबाइल सेवा सुरु भएपछि सो क्षेत्रका बासिन्दाले आइपी सिडिएमए प्रविधिमा आधारित इन्टरनेट पनि चलाउन पाउने भएका छन् । सो प्रविधिबाट यहाँ आउने पर्यटकलाई सुविधा हुनेछ ।

इन्टरनेट प्रोटोकल प्रविधिमा आधारित यो सेवा प्रवाह गर्नका लागि गतवर्ष नै उत्तरी सात गाविसमा सर्भे गरिएको थियो । टेलिकमले यसअघि दिँदै आएको इन्टरनेट सेवाभन्दा आइपी सिडिएमए प्रविधिबाट उच्च गतिमा इन्टरनेट चलाउन सकिने दूरसञ्चार कार्यालय जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us