महिला हिंसाविरुद्ध कडा कानुनको माग

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ९:०४ मा प्रकाशित

women voilenceकाठमाण्डु, २५ मंसिर– महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत राष्ट्रिय महिला अधिकार मञ्चले महिला हिंसाविरुद्ध प्रभावकारी कानुन तत्काल जारी गर्न माग गरेको छ ।

महिलाहरुले भोग्दै आएका बोक्सी, छाउपडी, दाइजो, बालविवाह, बहुविवाह, घरेलु हिंसा, यौन हिंसा जस्ता मानव विरोधी गतिविधिलाई न्यूनिकरणका लागि तत्काल सशक्त काननु ल्याउन सरकार मञ्चले माग गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर मञ्चले यसअघि विभिन्न २८ जिल्ला प्रशासन कार्यालयमार्फत र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाएर महिलामाथि हुने जघन्य अपराध सम्बन्धी कसुर तथा सजायको तत्काल व्यवस्था गर्न माग गरेको बताएको छ । सहर र ग्रामिण भेगका पीडित महिलाहरुको अधिकार र सम्मानजनक जीवनयापनको सुनिश्चितताका लागि संविधानसभाको पहिलो बैठकबाट नै उपयुक्त घोषणा गर्न माग समेत गरिसकेको जनाएको छ ।

राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष रेणुका मल्लले फितलो कानुनका कारण बोक्सी, बलात्कार र घरेलु हिंसाले विकराल रुप लिन थालेको भन्दै पीडकलाई कडा कारवाही हुने र पीडित महिलाहरुलाई तत्काल उद्धार, उपचार, राहत र क्षतिपूर्तिसहित न्यायको सुनिश्चितता नगरे २८ जिल्लाका ४९ हजार महिलाहरुको राष्ट्रिय सञ्जाल सडक संघर्षमा उत्रने चेतावनी दिइन् ।

सप्तरी जिल्ला महिला अधिकार मञ्चकी अध्यक्ष अभासेतु सिंहले महिला हिंसाका विषयमा फितलो कानुन भएका कारण जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले उजुरी लिन नमान्ने गरेको गुनासो गरिन् ।

२० उजुरी

सुर्खेत– २३ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियान मंगलबारदेखि सकिँदै छ ।

सुर्खेतमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी यो अभियान चलिरेहका बेला सुर्खेतमा सो अवधिमा  लिखित र मौखिक गरी महिला हिंसाविरुद्धका २० वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियानका क्रममा तीन जबर्जस्तीकरणीका उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक जना एकल महिलालाई जबर्जस्तीकरणी गरेको अभियोगमा सालकोट–५ का डम्बर विकविरुद्ध उजुरी परेको छ ।

इलाका प्रहरी कार्यालय छिन्छुमा एउटा र जिल्ला प्रहरी कार्यालयमा नै एक बालिकालाई जबर्जस्तीकरणी गरेको भन्दै अर्का एक जनाविरुद्ध उजुरी परेको छ । तीन जनाका विरुद्ध उजुरी परेको भएपनि प्रहरीले सबै अभियुक्तलाई पक्राउ गर्न सकेको छैन ।

छिन्चु इलाका प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा एक जना अभियुक्तलाई पक्राउ गरिएको भएपनि अन्यको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । यसै अवधिमा अन्य १३ वटा घरेलु हिंसा र ११ सामाजिक हिंसाका उजुरी परेको प्रवक्ता शाहीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us